• १८ असोज २०८२, शनिबार

सार्वजनिक प्रशासन रूपान्तरण : सुशासन र पारदर्शिताको माग

blog

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ७ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरिँदै ।

काठमाडौं, असोज १० गते। नवयुवा पुस्ता (जेनजी) को नेतृत्वमा सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ सुरु भएको छ। 

अभियानले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ७ बुँदे ज्ञापनपत्र बुझाएको र  प्रधानमन्त्रीले उठान गरिएका विषय सुशासन, विकास र समृद्धिका लागि अनिवार्य शर्तका रूपमा ग्रहण गरेको जनाइएको छ।

अभियानका संयोजक गणेश घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा प्रशासनिक प्रणालीमा विद्यमान विकृति, विसङ्गति, विभेद र भ्रष्टाचार अन्त्य गरी सेवाग्राहीमैत्री, पारदर्शी र उत्तरदायी सार्वजनिक प्रशासन निर्माण अभियानको मूल उद्देश्य भएको उल्लेख छ।

अभियानको प्रमुख एजेन्डा सार्वजनिक प्रशासनभित्र रहेका दलीय ट्रेड युनियनहरूको खारेजी रहेको स्मरण गराउँदै अभियानलाई छुट्टै ट्रेड युनियन बनाउन खोजेको भन्ने आरोपको खण्डन गरिएको छ। 

दलीय ट्रेड युनियनका नाममा सीमित व्यक्तिले लिएको अनुचित लाभले सरुवा, बढुवा र सेवाप्रवाहमा विकृति ल्याएको भन्दै सबै रुपान्तरणप्रेमी कर्मचारीलाई अभियानमा सहभागी हुन आह्वान गरिएको छ।

“हाम्रो अभियान कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई कर्मचारीतन्त्रलाई आमूल रूपान्तरण गरी जनमुखी, जवाफदेही र प्रविधिमैत्री बनाउन केन्द्रित छ” विज्ञप्तिमा भनिएको छ।