• १८ असोज २०८२, शनिबार

तनहुँमा चाडपर्वसँगै व्यापारिक चहलपहल बढ्यो

blog

तनहुँको सदरमुकाम दमौलीमा समान किन्दै ग्राहकहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज १० गते ।
दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका ठुला चाडपर्व नजिकिँदै गर्दा तनहुँका बजारहरू अहिले चहलपहलले भरिएका छन् । केही दिनअघिसम्म शान्तजस्तो देखिने सदरमुकाम दमौलीलगायतका व्यापारिक केन्द्रहरूमा हाल दैनिक ग्राहकको भीड बढ्दै गएको छ ।

व्यापारीहरूका अनुसार गत वर्षको तुलनामा यस वर्षको व्यापारिक कारोबार उल्लेख्य रूपमा बढेको छ । चाडपर्वका लागि चाहिने उपभोग्य सामग्रीदेखि लिएर कपडा, जुत्ता, इलेक्ट्रोनिक सामानसम्मको माग उच्च छ । ग्रामीण क्षेत्रबाट समेत उपभोक्ताहरू बजार आउन थालेपछि कारोबारमा थप वृद्धि भएको व्यापारीहरूको भनाइ छ । स्थानीय उपभोक्ताले बजारमा सामानको आपूर्ति सहज भएको र विकल्प पनि प्रशस्त देखिएको बताए पनि अन्डा र तेलजस्ता केही वस्तुको मूल्य बढेको गुनासो गरेका छन् । चाडपर्वका अवसरमा मूल्यवृद्धि तथा कालोबजारी रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका दश वटै स्थानीय तहले बजार अनुगमनलाई तीव्र पारेका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रका अनुसार यस वर्षको व्यापार विगतभन्दा राम्रो देखिएको छ । उहाँले भन्नुभयो, “विदेशबाट आएको रेमिटान्सले बजारमा नगद प्रवाह बढाएको छ । त्यस्तै, राज्यले तलब र सामाजिक भत्ता समयमै वितरण गरेकाले उपभोक्ताको क्रयशक्ति बढेको छ । यसकै प्रत्यक्ष प्रभाव व्यापारमा परेको हो ।”

दमौलीको कालिका मार्गस्थित एसआर इलेक्ट्रोनिक पसलका सञ्चालक समशेर पुरीले चाडपर्वमा इलेक्ट्रोनिक सामानको माग उल्लेख्य रूपमा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष टेलिभिजन, फ्रिज, वासिङ मेसिन र राइसकुकर जस्ता वस्तु खरिद गर्ने ग्राहकको चाप दिनहुँ बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यो वर्षको बिक्री निकै बढेको छ ।” चाडपर्व नजिकिँदै गर्दा तनहुँका बजारमा देखिएको यस्तो रौनकले व्यापारीहरूमा उत्साह थपिएको छ भने उपभोक्ताहरूले पनि किनमेलको रमाइलो अनुभूति गर्न थालेका छन् ।

सडक अवरोधमा कालाबजारी नगर्न व्यवसायीलाई आग्रह
यसैबिच सडक अवरुद्ध हुँदा सामान ढुवानी प्रभावित भए पनि उपभोक्तामाथि अतिरिक्त मूल्य भार नपार्न तनहुँ उद्योग वाणिज्य सङ्घले व्यवसायीलाई आग्रह गरेको छ ।

संका अध्यक्ष वैकुण्ठनाथ मिश्रले देशका विभिन्न राजमार्गमा वर्षा र पहिरोले ढुवानी प्रभावित भएपछि कालाबजारी भइरहेको गुनासो उपभोक्ताबाट प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समानको मूल्य बढेको छैन दुई–तीन दिनभित्रै आपूर्ति सहज हुनेछ, कृत्रिम मूल्यवृद्धि गरेर उपभोक्तामाथि बोझ नबढाउन व्यवसायी सचेत रहुन् ।”

उपभोक्ताले बढी मूल्यमा सामान बिक्री भएको देखेमा उद्योग वाणिज्य सङ्घ वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरिएको छ । दोषी व्यवसायीलाई सम्बन्धित निकायसँग समन्वय गरी कानुनी कारबाही गरिने जानकारी दिइएको छ । अध्यक्ष मिश्रले विशेष गरेर मुग्लिन–नारायणगढ खण्डको तुइन खोलामा खसेको पहिरोले दैनिक उपभोग्य सामान ढुवानीमा समस्या परेको र यही मौकामा कालाबजारी नगर्न व्यवसायीलाई सचेत गराइएको स्पष्ट पार्नुभयो ।