• १८ असोज २०८२, शनिबार

मोटरसाइकल दुर्घटनामा चार घाइते

blog

अनिल पराजुली
हेटौँडा, असोज १० गते ।
पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते हुनुभएको छ । हेटौँडाबाट मनहरीतर्फ आउँदै गरेको बा ४१ प ५६५६ नं.को मोटरसाइकल दाहिनेतर्फ बाटो क्रस गर्दै गरेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०३–००१ प ७२० नं.को मोटरसाइकलले बिहीबार ठक्कर दिई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मोटरसाइकल दुर्घटनामा बा ४१ प ५६५६ नम्बरको मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका–९ बस्ने १९ वर्षीय रेहान पुलामी मगर, पछाडि सवार सोही स्थानका ३१ वर्षीय गोविन्द दर्लामी घाइते हुनुभएको हो । घाइते मगरको खुट्टा,दाँत र छाती र दर्लामीको टाउको,हात र खुट्टामा चोट लागेको छ । उहाँहरूको मकवानपुर सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, सु.प.प्र.०३–००१ प ७२० नम्बरको मोटरसाइकल चालक डोटी आदर्श गाउँपालिका–६ बस्ने २३ वर्षीय प्रदीप खड्का र सोही मोटरसाइकल पछाडि बस्ने सोही स्थानका २२ वर्षीय खगेन्द्र बोहरा घाइते हुनुभएको छ । खड्काको बाँया हात र कुममा र बोहराको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उहाँहरू दुवै जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न रहेको दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा छ ।