पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज १० गते । नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै पश्चिम नवलपरासीका विभिन्न टोलहरूमा सम्भावित चोरी र लुटपाटका घटना न्यूनीकरण गर्न नागरिकस्तरमै सुरक्षा गस्ती सुरु गरिएको छ । पछिल्लो समय चोरीका घटनाहरू बढेसँगै प्रहरीको अनुरोधमा र नागरिकको आफ्नै पहलमा गस्ती अभियानले तीव्रता पाएको हो ।
जिल्लाको सुनवल क्षेत्रमा नागरिक सक्रियता बढेको छ । सुनवल १२ भुमहि, शान्ति टोल सुधार समितिले एक हप्ताअघि पुरै गाउँ भरी लाइट जडान गर्नुका साथै गस्ती सुरु गरेको छ । यो अभियानको दोस्रो हप्ता पुगेको समितिले जनाएको छ । समितिले रातको समयमा सबै टोलवासीलाई अलि चनाखो रहन पनि अनुरोध गरेको छ ।
यसैगरी, सुनवल १० गैंडाखाल मनकामना टोलबाट पनि चोरको बिगबिगी बढेपछि रात्रीकालीन गस्ती सुरु गरिएको छ । सुनवल–११, मिश्रौली कान्छि टोलमा समेत गाउँलेहरू चोरी नियन्त्रणका लागि गस्ती गर्नेबारे छलफलमा जुटेका छन् ।
नागरिक गस्ती सुरु भइरहँदा पनि चोरीका घटना रोकिएका छैनन् । सुनवल ३ खैरेनी गाउँमा नेत्र लाल बस्यालको घरमा झ्याल फोडेर चोरी भएको छ । पीडित परिवारका अनुसार चोरले घरबाट सुनको सिक्री र सुनको झुम्का चोरी गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्थानीय प्रहरीले चाडपर्वको समयमा चोरी तथा लुटपाटको जोखिम बढ्ने भएकाले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
पश्चिम नवलपरासीमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ । सम्भावित चोरी, लुटपाट तथा अपराधिक घटनाहरूलाई नियन्त्रण गर्न हतियारसहितको क्रस पेट्रोलिङ टिम परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले दिएको जानकारीअनुसार, विशेषगरी राजमार्ग र हुलाकी राजमार्गमा हुन सक्ने लुटपाटलाई मध्यनजर गरेर यो विशेष गस्ती टोली खटाइएको हो । चाडपर्वलाई सुरक्षित बनाउन विभिन्न युनिटहरूमा कुल ५१३ प्रहरी खटाइएका छन् ।
सुरक्षाका मुख्य कदमहरू तर्फ सादा पोशाकमा निगरानी, नागरिक सहायता कक्ष, तत्काल उद्धारका लागि तयारी र नागरिकलाई सुरक्षा गस्तीको अनुरोध प्रहरीले गरेको छ ।
सादा पोशाकमा निगरानीतर्फ बैंक तथा वित्तीय संस्था, पसल र बजार क्षेत्रहरूको निगरानीका लागि सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
नागरिक सहायता कक्ष तर्फ यात्रुहरूलाई सहयोग पुर्याउन जिल्लाका चार प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यी स्थानहरूमा बर्दघाटस्थित टिसिएन चोक, भूमही, परासीको बाइपास चोक र सीमा क्षेत्रको महेशपुर रहेका छन् ।
तत्काल उद्धारका लागि तयारीतर्फ दुर्घटना भए तत्काल उद्धारका लागि २७ वटा मोटरसाइकलमा प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।
नागरिकलाई सुरक्षा गस्तीको अनुरोध पनि प्रहरीले गरेको छ । प्रहरीले नागरिकहरूलाई सम्भावित चोरी र लुटपाटका घटना न्यूनीकरण गर्न नागरिकस्तरमै सुरक्षा गस्ती गर्न अनुरोध गरेको छ ।