चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङमा पछिल्लो एक महिनाको अवधिमा एघार जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार भदौ महिनामा उक्त सङ्ख्यामा नाबालक परिचयपत्र वितरण गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार चालु आवको दुई महिनाभित्र १८ जनालाई नाबालक परिचयपत्र वितरण भएको छ । उक्त सङ्ख्यामध्ये भदौमा ११ जना र गत साउन महिनामा छ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो ।
नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष नपुगेकालाई आवश्यक परेको खण्डमा नाबालक परिचयपत्र प्रदान गर्ने व्यवस्था रहेको छ । नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ भने स्थानीय प्रशासन ऐनअनुसार नाबालक परिचयपत्र प्रदान गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको हुन्छ ।
नेपाल नागरिकता ऐन र स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार नाबालक परिचयपत्र वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ९५ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको थियो ।
यसैबिच, भदौ महिनामा २२७ जनालाई नेपाली नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार राहदानीसम्बन्धी सेवा ४६६ जनालाई प्रदान गरिएको छ । जसमा २४७ जनालाई राहदानी वितरण, १२ जनालाई राहदानीका लागि द्रुत सेवाको सिफारिस र २०७ जनालाई राहदानीको साधारण सिफारिस प्रदान गरिएको छ ।
त्यस्तै, भदौ महिनामै एक हजार ४३२ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ । राष्ट्रिय परिचपत्र कार्ड ५८ जनालाई वितरण गरिएको र २९ जनाको राष्ट्रिय परिचयपत्र विवरण सच्याइएको सहायक प्रजिअ खड्काले सार्वजनिक गर्नुभएको विवरणमा उल्लेख छ ।