रामकृष्ण बोहरा
बागलुङ, असोज १० गते । चाडपर्वमा बजारमा झिनियाको माग र खपत बढी हुन्छ । अन्य समयमा भन्दा रङ मिसिएका खाद्य सामग्री यो बेला बढी प्रयोगमा आउछन् । अखाद्य रङ प्रयोग गरिएका खानाबाट दीर्घकालीन रुपमा प्राणघातक रोगको सङ्क्रमण हुने सचेतनासहित बागलुङ बजारमा अनुगमन थालिएको हो ।
बागलुङ नगरपालिकाको संयोजनमा सरोकारवालाको समूहले बजारका खद्यान्न, माछा, मासु, फलफुल तथा सरकारी पसलहरुमा पुगेर अनुगमन थालेको हो । अनुगमनमा उपभोक्ता हितको ख्याल गर्न, राज्यका नियम कानूनको पालना गरेर मात्रै उपभोग्य वस्तुको खरिद बिक्री गर्न आग्रह गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
बिहीबार गरिएको अनुगमनमा मासुु पसलमा मासु फोहोर भेटिएको, पसलहरुमा अखाद्य रङ मिसिएका झिलिङ्गालगायतका खाद्य सामग्री भेटिएको बागलुङ नगरपालिकाका राजस्व शाखा अधिकृत सरस्वती शर्माले बताउनुभयो । विशेषगरी हावा भरिएका कुरकुरे, चिप्सजस्ता बालबालिकाले धेरै प्रयोग गर्ने खाद्य सामग्रीमा म्याद गुजे्रको भेटिएका थिए ।
अनुगमन गरिएकामध्ये अधिकांश पसलहरुमा चिप्स, स्टिक, चकलेट लगायतका सामग्री म्याद गुज्रेका भेटिएका मञ्चका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । म्याद गुज्रेका सामग्री तत्कालै नष्ट गरिएको छ । “बालबालिकाले प्रयोग गर्ने अधिकांश खाजाजन्य खाद्य सामाग्रीहरु धेरै म्याद गुज्रेको भेटियो” श्रेष्ठले भन्नुभयो, “एक पटकका लागि सचेत गराईएको छ, अर्को पटक सुधार नआए नियमानुसार कानुनी कारवाही गर्छौं ।”
अनुगमनका क्रममा अनुमती नलिई मदिराको बिक्री गर्ने गरेको, पसल तथा फर्महरु दर्ता नै नगरी सञ्चालन गरेको, एउटै सटरबाट मासु, औषधी, खाद्यान्न, स्टेशनरी, खाद्यान्न, लत्ताकपडा समेत बिक्री गर्ने गरेको समेत अनुगमनमा भेटिएको थियो ।