• १८ असोज २०८२, शनिबार

घरघरै पुगेर भत्ता वितरण

blog

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम लाभग्राहीलाई भत्ता रकम वितरण गर्नुहुँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १० गते ।
ताप्लेजुङमा ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जिल्लाका अधिकांस स्थानीय तहका वडाले लाभग्राहीको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

स्थानीय तहका पदाधिकारी, वडाध्यक्ष र वडासचिवहरु घरघरै पुगेर अशक्त (अपाङ्ग), एकल महिला र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिँदै आएको हो । लाभग्राहीको सहजताका लागि घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।

अध्यक्ष वनेमका अनुसार बैङ्कसँगको समन्वयमा लाभग्राहीको घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । यस्तै फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईले पनि वडाभित्रका लाभग्राहीको घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर) ले शुक्रबार आजदेखि लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तायरी गरिएको जानकारी दिनुभयो । अध्यक्ष हाङ्गामका अनुसार घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजनाअनुरुप वडा १ थिङ्लाबुबाट सुरु गरिने छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाले पनि घरटोलमै पुगेर भत्ता वितरण गरेको छ । लाभाग्राहीलाई सामाजिक भत्ता रकम वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्यसमेत परीक्षण गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । यसरी जिल्लाका नौ स्थानीयमध्ये अधिकांसले लाभग्राहीलाई घरटोलमै पुगेर चालु आर्थिक वर्षको पहिलो चरणको सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दै आएका छन् ।

यता स्थानीय तहहरुले घर तथा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राहीलाई राहत पुगेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्नलाई बैङ्कसम्म धाउनुपर्ने हैरानीबाट मुक्ति पाएको लाभग्राही बताउँछन् । त्यस्तै चाडपर्वका समयमा घरमै भत्ता रकम पाएपछि लाभग्राहीले ठुलो राहतको महशुस गरेका छन् ।