• १८ असोज २०८२, शनिबार

प्रदेशका कार्यालयमा जनशक्ति घट्दै योजना बढ्दै

blog

शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज १० गते ।
लुम्बिनी प्रदेशका पाल्पा र गुल्मीमा काम गर्ने गरेर सहरी विकास तथा भवन कार्यालय पाल्पामा छ । यो कार्यालयमा स्थायी प्राविधिक कर्मचारी कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनीयर गोविन्द प्रसाद पोख्रेल र एक जना सव इन्जिनीयर प्रेम पोखेल हुनुहुन्छ । कार्यालयले आवास व्यवस्थापन तथा वस्ति विकास, भवन तथा सभाहल र सहरी पूर्वाधार विकासको काम गर्छ ।

गत वर्ष पाल्पा र गुल्मी गरेर १३३ योजना थिए । अहिलेपनि सोही सङ्ख्यामा योजनाहरु छन् । बजेट हेर्दा पाँच लाखसम्मका योजना छन् । गत वर्ष गुल्मीमा ६३ वटा योजनामध्ये ५६ वटाको काम भयो । आवास व्यवस्थापन तथा वस्ति विकासका १९, भवन तथा सभाहलका तीन र सहरी पूर्वाधार विकासका ३९ योजना रहेका थिए । ६२ योजनामध्ये चार योजना चालु अवस्थामा रहेको र दुई वटा जग्गाको समस्याले कार्यान्वयन नभएको कार्यालयले जनाएको छ ।

कार्यालयले गत वर्ष नाली निर्माण ३.४० किलोमिटर, कालोपत्रे निर्माण ०.५४७ किलोमिटर, आर.सि.सि र पि.सि.सि एक हजार ६२३ मिटर, पदमार्ग ६५७ मिटर, वाल एक हजार ३५४ मिटर, सरकारी भवन दुई र सामुदायिक भवन निर्माण तीन वटा गरिएको कार्यालय प्रमुख सिनियर इन्जिनीयर गोविन्द गौतमले बताउनुभयो ।

यो वर्ष गुल्मीमा मात्रै रुरुक्षेत्रमा दुई, छत्रकोटमा छ, रेसुङ्गामा १०, चन्द्रकोटमा १३, मुसिकोट, गुल्मीदरवार, मदानेमा र धुर्कोटमा छ/छ वटा योजना रहेका छन् । त्यस्तै मालिकामा दुई, कालीगण्डकीमा आठ, इस्मामा १० र सत्यवतिमा नौ गरेर ८४ योजना रहेका छन् ।

जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय गुल्मीमा गत वर्ष २३२ योजना थिए । ती मध्ये२२ कार्यान्वयन भए १२ वटा हुन सकेनन् । कार्यालयमा तीन लाख रुपियाँसम्मका योजना थिए । २२ करोड ८९ लाख ६६ हजार रुपियाँ बजेटमा १९ करोड ७४ लाख ४५ हजार अर्थात् ८६.२३ प्रतिशत प्रगती भएको थियो । कार्यालयले नौ हजार ५०० मिटर कुलो र दुई हजार ५४० मिटर नहर निर्माण गरेको छ ।

त्यस्तै, पूर्वाधार विकास कार्यालय गुल्मीमा गतबर्ष २०४ योजना र ७३ करोड रुपियाँ बजेट थियो । कार्यालयमा स्थायी तिन जना र करार तथा ज्यालादारी गरेर पाँच जना प्राबिधिक कर्मचारी यो वर्ष १८९ योजना र ७९ करोड बजेट रहेको सडक पूर्वाधार कार्यालय प्रमुख इन्जिनियर सचितानन्द चौधरीले जानकारी दिनुभयो । त्यस्तै, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीका प्रमुख इन्जिनीयर सरोज न्यौपानेका अनुसार कार्यालयको गत वर्ष १२० योजना र २० करोड रुपियाँ बजेट थियो । कार्यालय प्रमुखसहित तीन जना प्राविधिक रहेका छन् । योजना धेरै र जनशक्ति कम हुँदा गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ । आफुहरुले जेनतेन काम गर्दै आएको भए पनि प्रभावकारी हुन प्रयाप्त जनशक्ति चाहिने न्यौपानेले बताउनुभयो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले प्रदेशका कार्यालयहरुमा जनशक्ति कम र टुक्रे योजना धेरै भएकाले उपलब्धी राम्रो नभएको बताउनुभयो । उहाँले जिल्ला समिक्षामा काम र उपलब्धीका विषयमा स्थानीय तह र स्वयम् योजना कार्यान्वय गर्ने कार्यालय समेत असन्तुष्ट रहेकाले आवश्यकताको आधारमा मात्रै योजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “दुई प्राविधिकको भरमा डेढ सय योजना निकै लजास्पद विषय हो । प्रदेशका केही कार्यालयले देखाउन लायक योजना नभएकाले जिल्ला स्तरीय अनुगमन समेत नगराएको बिडम्बना समेत रहेछ ।”