• १८ असोज २०८२, शनिबार

खुर्कोटलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा

blog

नयाँ सहरको रुपमा विकास गर्न सुरु गरिएको सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ स्थित खुर्कोट । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
खुर्कोट(सिन्धुली), असोज १० गते ।
सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ स्थित खुर्कोटलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा अघि बढेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले छोएका देशका १२ स्थानलाई नयाँ सहरको रुपमा विकास गर्ने सरकारी योजनाअन्तर्गत खुर्कोटलाई नयाँ सहर बनाउने कार्य २०७० सालबाट सुरु गरिएको थियो । तर उक्त कार्य सुरु गरेको एक दशकभन्दा बढी भए पनि भौतिक प्रगती निकै सुस्त रहेको स्थानीयले गुनासो गरेका छन् । २० वर्षभित्र खुर्कोटलाई नयाँ सहरको रुपमा विकास गर्ने सरकारी लक्ष्य छ ।

प्रस्तावित नयाँ सहरमा एक लाख जनसङ्ख्या अट्न सक्ने गरी पूर्वाधार निर्माण हुने बताइएको छ । खुर्कोटमा नयाँ सहर आयोजना कार्यालय २०७० सालमा स्थापना गरी काम सुरु गरेको भए पनि १२ वर्षसम्म अपेक्षाकृत रुपमा काम हुन नसकेको स्थानीय बासिन्दा रामकृष्ण श्रेष्ठ गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘‘जग्गा एकीकृत गरी सहर बनाउने भनेर मेरो पनि करिब एक रोपनी जग्गा त्यति बेला नै अधिग्रहण गरिएको थियो । अहिले नत जग्गाको विकास भने जस्तो गरी भएको छ, न त आयोजनाले  जग्गा फिर्ता नै गरेको छ ।’’

बर्सेनि करोडौँको बजेट नयाँ सहरका लागि आए पनि सोचे अनुसारको काम नभएको स्थानीय बासिन्दा तथा उक्त आयोजनाअन्तर्गत गठन भएको भिमेश्व खुर्कोट जग्गा विकास उपभोक्ता समितिका अध्यक्ष टिकाबहादुर देवकोटा बताउनुहुन्छ । आयोजना कार्यालयले फाट्टफुट्ट कम गरे पनि देखिने गरी नभएको उहाँको भनाइ छ । समितिका अध्यक्ष देवकोटाले भन्नुभयो, ‘‘नयाँ सहर आयोजनाले अहिलेसम्म गरेको काममा भवन बनाएको देखिन्छ, अरु केही देखिदैन ।’’

खुर्कोटलाई सम्पन्न नयाँ सहर बनाउनका लागि ३३२ जना किसानको ६७८ रोपनी जग्गा एकीकरण गरी त्यसमा भौतिक पूर्वाधार निर्माणको काम भई रहेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जग्गा एकिकरणको भौतिक प्रगतीको काम ६० प्रतिशत सकिएको छ । वि.सं २०९० सम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ । एक अर्ब रुपिया लागतको परियोजना विस्तृत प्रतिवेदन (डिपिआर) तयार गरी आयोजान सुरु भएको र हालसम्म करिब ८७ करोड रुपियाँ बजेट पूर्वाधार निर्माणमा खर्च भइसकेको छ ।

हालसम्मको मुख्य भौतिक उपलब्धीहरुमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण चार वटा, अस्थायी बसपार्क, खेल मैदान, कल्भर्ट, पार्क, खानेपानी योजना चार वटा, सौर्यबत्ति १६६ वटा, ट्रयाक खोल्ने तथा स्तरउन्नती सडक १६ दशमलब सात किमि, कालोपत्रे सडक साँढे १० किमि, सडक ढलान छ सय मिटर, नाला निर्माण १४ किमि र फुटपाथ निर्माण तीन सय मिटर र कभर्डहल निर्माण रहेको निमित्त आयोजना प्रमुख सन्तोषकुमार निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाको काम सुस्त हुनुमा गुठी जग्गाका कारण नापी कार्यालयबाट एकीकृत गरेको जग्गालाई एउटै कित्ता बनाउन नसक्नु, बर्सेनि न्यून बजेट विनियोजन हुनु, आयोजना स्थलमा रहेका घरहरुको मुआब्जा समस्या, गुठी सस्थानको जग्गालाई मुआब्जा बापत दिने बजेटको अभाव लगायत रहेको छ ।

हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्य अनुसार काम गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । एकीकरण गरेको जग्गाको काम सिध्याएर चालु आर्थिक वर्ष ०८२/०८३ भित्रमा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख निरौलाको भनाइ छ ।

गाउँपालिकाका प्रवक्ता तथा उक्त वडाका अध्यक्ष रेगनराज थापा एकीकृत गरेको सबै जग्गामा पुग्ने गरी सडक निर्माणको काम सकिएको बताउनुहुन्छ । ‘‘नक्साङ्कन सकेर जग्गा फिर्ता गर्नका लागि फाइल मालपोत कार्यालय सिन्धुलीमा पेस गरेको अवस्था छ । लामो समयदेखि फाइल त्यही अड्किएर बसेको छ । उसको प्रोसेस नै लामो हुँदो रहेछ,’’ उहाँले थप्नुभयो ।