रमेश विश्वकर्मा
गुल्मी, असोज १० गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गरेको छ । बडादसैँ, शुभ दिपावली, छठ लगायतका चाडपर्वको शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले चाडपर्वलाई सार्वजनिक स्थलमा भीडभाड, हो–हल्ला र हुलदङ्गा नगरी सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गर्नुभयो ।
चाडपर्व हाम्रा संस्कृति, परम्परा, आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर भएको भन्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले सबै नागरिकबीचको आपसी सहयोग, सम्मान र सामाजिक अनुशासन पालनाले मौलिक धरोहरहरुको जर्गेना गर्ने बताउनुभयो । समाजलाई गतिशिल र सभ्य बनाउन तथा सामाजिक ऐक्यबद्धता कायम गर्न चाडपर्वले योगदान पु¥याउने उहाँको भनाइ छ ।
अत्यावश्यक वस्तुमा कृतिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका बस्तु बिक्री वितरण गर्ने लगायतका उपभोक्ता हित विपरितका कार्यहरु गर्न नहुने शुभकामना सन्देशमा उल्लेख छ । चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने÷नगराउने साथै गैरकानुनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट समेत ठगी नगर्ने÷हुन नदिने उहाँले बताउनुभयो ।
सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने÷गराउने, यात्रुहरुलाई कुनै सहयोग आवश्यक परे वा गुनासो भएमा फोन नं. १०० वा ९८५७०६७११० मा जानकारी गराउन प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गर्नुभयो ।
चाडपर्वको समयमा आपूर्ति, स्वास्थ्य तथा अन्य आपत्कालीन सेवा सूचारु गर्ने, यसका लागि जिल्लामा उपलब्ध जनशक्ति र स्रोत साधन (एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्काभेटर, सवारी साधन, क्रेन, चालक, इन्धन आदि) तयारी अवस्थामा राख्ने उल्लेख गरिएको छ । मनसुन वा अन्य कारणले बिग्रे भत्केका सडक मर्मत गरी चालु अवस्थामा ल्याउने, यात्रा गर्दा सुरक्षा सर्तकता अवलम्बन गर्न उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै, आतिसबाजी, पटाका, भुइचम्पा, बम वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी र प्रयोग गर्न नहुने बताउनभयो । देउसी, भैलो लगायतका कार्यक्रमहरु सञ्चालन गर्दा मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले बेलुकी अधिकतम ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कोइरालाले कानुन विपरितका कार्य कसैले पनि गर्न नहुने भन्दै यदि त्यसो गरेमा पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने समेत बताउनुभयो ।