अमरराज नहर्की
तनहुँ, असोज ९ गते । व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माण भइरहेको मादी नदी लिफ्ट खानेपानी आयोजना धमाधम अघि बढाइएको छ।
विसं २०७८ भदौमा सम्झौता भई २०८० भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि बीचमा निर्माण कार्य रोकिँदा ढिलाइ भएकोमा हाल पुनः कार्यलाई तीव्रता दिइएको हो ।भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष चिजबहादुर दरैले योजना सम्पन्न भएपछि यहाँका उपभोक्ताले दीर्घकालीन रूपमा खानेपानीको सहज सुविधा पाउने बताउनुभयो ।
आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएपछि निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सनले आन्तरिक समस्या देखाउँदै कार्य रोकेका थिए । सम्झौता पश्चात् पटक–पटक गरी दुई वर्ष म्याद थप गरिएको भादगाउँ खानेपानी संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कामले गति लिन थालेको छ । तिहार अगावै उपभोक्ताको घर–घरमा पानी वितरण गर्ने योजना रहेको छ ।”
रु. २६ करोड २५ लाखको लागत अनुमान गरिएको आयोजनामा २७ प्रतिशत घटिघटाउ र कन्टिजेन्सी कटाएर करिब रु. १७ करोड ५० लाखमा निर्माण कार्य अघि बढाइएको हो । निर्माण कम्पनीलाई कार्यप्रगतिअनुसार भुक्तानी दिने गरिएको संस्थाका कोषाध्यक्ष विष्णुबहादुर बस्नेतले जानकारी दिनुभयो । आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानी रहेको छ ।
आयोजनाअन्तर्गत व्यास नगरपालिका–१ अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने फिल्टर मिडिया र गार्ड हाउसको निर्माण कार्य जारी छ । संस्थाका सचिव राजेश्वर हड्खलेका अनुसार सोही वडाको भद्रमा ५० हजार लिटर क्षमताको ट्याङ्की, मादी नदी किनारमा सम्पवेल गार्ड हाउस र मुख्य पम्प हाउस गार्ड हाउस निर्माणको काम भइरहेको छ।
व्यास नगरपालिका–४ चुरेखोल्सीस्थित मादी नदी किनारबाट करिब पाँच किलोमिटर लामो पाइपलाइनमार्फत पानी ल्याएर उपभोक्तालाई वितरण गर्ने तयारी गरिएको छ । यसका लागि दुई रोपनी निजी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी क्षेत्र प्रयोगमा ल्याइएको छ ।
मादी नदी लिफ्ट आयोजनाबाट प्रतिसेकेण्ड २६ लिटर पानी संकलन गर्न सकिनेछ । यसका लागि आवश्यक फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माण कार्य यसअघि नै सम्पन्न भइसकेको छ । विसं २०५६ मा स्थापना भएको भादगाउँ खानेपानी संस्थाले प्रारम्भमा ५२ वटा सार्वजनिक धाराबाट सेवा दिन थालेको थियो भने हालसम्म दुई हजार छ सय ८० निजी धारा जडान गरी करिब २१ हजार बढी उपभोक्तालाई सेवा दिईंदै आएको छ ।
यसअघि व्यास नगरपालिका–१३ स्थित करादी खिरखादी मुहानबाट करिब १३ किलोमिटर लामो पाइपलाइनमार्फत प्रतिसेकेण्ड १७ लिटर पानी संकलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को एक टोलका उपभोक्तालाई सेवा दिइँदै आएको थियो । तर बस्ती विस्तारसँगै पानीको माग बढेपछि वैकल्पिक स्रोतका रूपमा मादी नदी लिफ्ट खानेपानी आयोजना अघि सारिएको हो ।
संस्थाका व्यवस्थापक श्रेष्ठका अनुसार आयोजनाअन्तर्गत ५२ किलोमिटर दूरीमा शाखा पाइपलाइन बिछ्याउने कार्य सकिएको छ । उहाँले भन्नुभयो, “अहिले निर्माण कार्यलाई तीव्रता दिइएकाले अब छिट्टै आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ ।”