• १८ असोज २०८२, शनिबार

आगजनीबाट क्षतिग्रस्त कोहलपुर नगरपालिकालाई प्याब्सन कोहलपुरको सहयोग

blog

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई जिन्सी सामग्री प्रदान गर्दै प्याब्सन कोहलपुरको टोली । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज ९ गते ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कोहलपुर नगर समितिद्वारा कोहलपुर नगरपालिकालाई जिन्सी सामग्री सहयोग गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको कोहलपुर नगरपालिकाबाट नागरिकलाई प्रदान गरिने सेवासमेत प्रभावित बनेको भन्दै सेवा प्रवाह सुचारु गर्नका लागि प्याब्सन कोहलपुरले विभिन्न विद्युतीय उपकरणलगायतका जिन्सी सामग्री सहयोग प्रदान गरेको हो ।

प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा नगरपालिकाको भौतिक संरचनासहित कार्यालयमा रहेका सामग्रीसमेत जलेर नष्ट हुँदा नागरिकले पाउनुपर्ने सेवा अवरुद्ध भएकाले पुनः सुचारु गर्नका लागि आवश्यक जिन्सी सामग्री प्रदान गरिएको बताउनुभयो ।

प्याब्सन कोहलपुरअन्तर्गत रहेका विभिन्न २८ वटा विद्यालयहरुले स्वस्फूर्तरुपमा गरेको आर्थिक सहयोगबाट कोहलपुर नगरपालिकालाई ल्यापटप तीन थान, फोटोकपी मेसिन प्रिन्टर चार थान, डेस्कटप कम्प्युटर एक सेट, ७५ इन्ची मनिटर दुई थान गरी ६ लाख ६० हजार तीन सय रुपियाँ बराबरका जिन्सी सामग्री खरिद गरेर प्रदान गरिएको उहाँले बताउनुभयो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई अध्यक्ष केसीसहितको प्याब्सन कोहलपुरको टोली र विभिन्न विद्यालयका सञ्चालकहरु सम्मिलित टोलीले उक्त सामग्री प्रदान गरेको थियो ।