टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) असोज ९ गते । गुल्मीको धुर्कोट गाउँपालिकाका विभिन्न पसलहरुबाट म्याद नाघेका एक लाख २१ हजार ३६८ रुपियाँ बराबरका सामग्री बरामद गरेर नष्ट गरिएको छ । धुर्कोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासंघ गुल्मी र जिल्ला प्रहरी कार्यालयको संयुक्त बजार अनुगमनको क्रममा म्याद नाघेर पनि बिक्रीका लागि पसलमा राखेका सामग्री बरामद गरिएको थियो ।
धुर्कोट गाउँपालिका–४ को बरबोट बजार क्षेत्रबाट एक लाख १८ हजार ६६८ रुपियाँ बराबरका अखाद्य बस्तु अनुगमन टोलीले बरामद गरेको थियो । त्यस्तै, वडा नं ५ बस्तु बजार क्षेत्रबाट पनि दुई हजार सात सय रुपियाँका म्याद सकिएका खाद्य सामग्रीहरु बरामद गरेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो । उहाँले बरामद गरिएका सामग्री अनुगमन टोली, सहकारी संस्थाका प्रतिनिधि, उद्योग बाणिज्य संघ र प्रहरीको रोहबरमा नष्ट गरिएको बताउनुभयो ।
धेरै पटक अनुगमन गरेर सुझाव दिँदा कार्यान्वय नगर्ने व्यावसायीहरुको समान जफत र कारबाही समेत गर्न थालिएको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो छड्के अनुगमन हो । सूचना र गुनासा आएका ठाउँमा तत्काल पुगेर अनुगमन गरिएको छ । उपभोक्ता र व्यवसायी दुवै सचेत रहनुपर्नेछ ।’’
बजार अनुगमनको क्रममा स्थायी लेखा र दर्ता बिना व्यावसायी सञ्चालन गरिएका, म्याद सकिएर पनि खाद्य सामग्री र पेय पदार्थहरु बिक्रीमा राखिएका, मूल्य सुची नराखिएको, एउटै पसलबाट धेरै व्यावसाय सञ्चालन, होटल तथा मासु पसलमा सरसफाई नगर्ने लगायतका समस्या धेरै देखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत कमल सेन ओलीले जानकारी दिनुभयो ।
जिल्लामा नागरिक स्तरबाट बजार अनुगमन निरन्तरताको चर्को माग भइरहेको छ । तर, नियामक निकायले अनुगमनलाई चाडपर्व लक्षित गरेको आम नागरिकको गुनासो छ । धुर्कोट गाउँपालिका–४ जैसीथोकका युवा व्यावसायी स्थानीय तहले तीन÷तीन महिनामा छड्के अनुगमन र जिल्ला स्तरबाट कम्तिमा छ÷छ महिनामा संयुक्त अनुगमन गरेमा बजारको अहिलेको समस्या समाधान हुने बताउनुभयो ।
अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजिव अर्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल सेन ओली, धुर्कोट गाउँपालिकाबाट मेडिकल अधिकृत सागर पोख्रेल, कृषि अधिकृत दिलिप न्यौपाने, पशु प्राविधिक अशोक खनालसहितको टोली सहभागी रहेको थियो ।