पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, ९ असोज । पश्चिम नवलपरासीमा प्रहरीले सीमा नाकामा गस्ती र निगरानी बढाएसँगै गत महिनाको तुलनामा अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका दोब्बरभन्दा बढी सामान बरामद गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले दिएको जानकारीअनुसार साउन महिनामा ३९ लाख रुपियाँ बराबरको सामान बरामद भएकोमा भदौ महिनामा यो आँकडा बढेर ७२ लाख रुपियाँभन्दा बढी पुगेको छ ।
प्रहरीका अनुसार विगतका वर्षहरूमा पिकअप, ट्रकलगायतका ठुला सवारीसाधन प्रयोग गरेर तस्करी हुने गरेकोमा प्रहरीको सक्रियताले उक्त कार्यमा कमी आएको छ । तर अहिले पनि मोटरसाइकल र साइकलमार्फत किराना र लत्ताकपडाजस्ता सामानहरू भन्सार छली गरेर ल्याउने क्रम रोकिएको छैन । विशेषगरी, मुख्य र सहायक बाटोभन्दा अन्य भन्सार छलीका चोर बाटो हरू प्रयोग गरेर सामान ओसारपसार हुने गरेको पाइएको छ ।
प्रहरीले भदौ महिनामा बरामद गरेको ७२ लाखभन्दा बढीको सामानमा सबैभन्दा बढी हिस्सा किराना सामान को रहेको छ । अवैध सामान बरामद गर्ने क्रममा प्रहरीले तीन जना लाई समेत पक्राउ गरेको छ । किराना सामान ओसारपसारमा संलग्न एक जना र खसीबोकामा संलग्न दुई जना लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालय बुटवल र महेशपुर भन्सार कार्यालय पठाइएको डीएसपी पन्तले जानकारी दिनुभयो । प्रहरीको यो सफलताले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको मानिएको छ ।