• १८ असोज २०८२, शनिबार

बालविवाहदेखि साइवर अपराधको चुनौतीमा समाज

blog

कानुनी सचेतना कार्यक्रमका सहभागीहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असोज ९ गते ।
बागलुङ नगरपालिका– १० की सिर्जना थापाले आफूले चाहेर पनि गाउँबाट बालविवाह हटाउन नसकेको गुनासो गर्नुभयो । थापाले सामान्य सम्झाइ बुझाइले बालविवाहको नहटेको अनुभव सुनाउनुभयो ।

२० वर्ष नपुगी विवाह गर्न पाइदैन भन्ने कानुनी प्रावधान र त्यस कसुरको कारवाहीबारे बल्ल प्रष्ट बुझ्न पाएको उहाँले बताउनुभयो । ‘‘कानुनले के सजायको व्यवस्था गरेको छ भन्ने कुरा बल्ल थाहा पायौं, अब समाजमा सन्देश फैलाउन सकिने छ ।,’’ उहाँले भन्नुभयो, ‘‘विद्यालय उमेरका बालबालिकालाई बालविवाहको समस्या, कानुनी प्रावधानबारे बुझाउन जरुरी छ ।’’ गत वर्ष बालमैत्री नगरपालिका घोषणा गरेर पनि बालविवाहको चुनौती रहेकाले कानुनको जानकारीबाट मात्र न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल बार एसोसिएसन, उच्च बार इकाई बागलुङले वडा नं. १० को सहकार्यमा आयोजना गरेको कानुनी सचेतना कार्यक्रमका सहभागीले समाजमा आइपरेका बालविवाह, बहुविवाह, सम्पत्ति, लेनदेनका समस्या, बैंकिङ कसुर र साइबर अपराध लगायतका धेरै कानुनी झन्झटमा परेको र समाधानका लागि कानुनी शिक्षा चाहिएको बताउनुभयो । बारले गरेको सचेतनाले केही मात्रामा समस्या समाधानमा सहयोग गरेको उहाँहरुको भनाइ थियो ।

कानुन थाहा नपाएका कारण आइपरेका दर्जनौं घटनाहरुले समाज आक्रान्त बनिरहेको र राजनीतिक परिवर्तनले एक प्रकारको चेतना विकास भए पनि कानुन, न्याय तथा सामाजिक चेतनाको विकास भइनसकेको उहाँहरुको भनाइ थियो । बालमैत्री नगरमा बालविवाह नघटेको, बालबालिकाले उचित शिक्षा नपाएको समस्याबारे सहभागिले गुनासो गर्नुभयो ।

कार्यक्रममा महिला अधिकारको धेरै चर्चा भए पनि बहुविवाहले समाजमा अझै जरो गाडिरहेको, गैरकानुनी रुपमा बहुविवाह गरेकाहरुबाट महिला पीडित भएको, सम्पत्तिको अधिकार नपाएको जस्ता धेरै विषय समेत सहभागिले उठाउनुभएको थियो । भकूण्डेका सबै टोल विकास समिति, महिला समूह, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा सदस्यलाई बार एसोसिएसनले कानुनी सचेतना कार्यक्रम चलाएको थियो ।

वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले सम्पत्ति कानुनको विषयमा प्रशिक्षण गराउनुभएको थियो । अर्का वरिष्ठ अधिवक्ता भूमिश्वर शर्मा गौतमले विवाह, सम्बन्ध बिच्छेद, घटना दर्ता, बारका सचिव उमाशंकर सापकोटाले बैंकिङ कसुर र साइवर अपराध, केन्द्रीय पार्षद हरि प्रसाद गौतमले लागुऔषध दुर्व्यवसन, ओसारपसारको विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

बार एसोसिएसनले जिल्लाका दसवटै पालिकाको वडा तहमा पुगेर कानुनी सचेतना अभियान चलाउने निर्णय गरेको अध्यक्ष श्रीषले जानकारी दिनुभयो ।