चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको छ । विभिन्न संकायअन्तर्गत उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो ।
जिल्लाको सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकामा शिक्षा क्षेत्रमा क्रियाशील रहेको गैर सरकारी संस्था रिड नेपालले परियोजना क्षेत्रभित्रका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाका कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार शैक्षिकसत्र २०८२ मा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई ‘जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति’ प्रदान गरिएको हो ।
विभिन्न संकायमा उच्च शिक्षा अध्ययनरत १२ जना विद्यार्थीलाई पाँच लाख ८८ रुपियाँ बराबर छात्रवृत्ति रकम प्रदान गरिएको रिड नेपालका कार्यक्रम प्रवन्धक पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च शिक्षाअन्तर्गत तीन वर्षे प्राविधिकतर्फ फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकस्थित पार्वती माध्यमिक विद्यालयकी सरला लिम्बूले छात्रवृत्ति पाउनुभएको छ ।
त्यस्तै प्राविधिकतर्फ नै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेको लक्ष्मी माध्यमिक विद्यालयकी ऐश्वर्या लिम्बू, सोही गाउँपालिका–८ याम्फुदिनस्थित कञ्चनजङ्घा माध्यमिक विद्यालयकी लक्की भोटे र वडा ७ खेवाङको गणेश माध्यमिक विद्यालयका लक्ष्मीप्रसाद सेन्चुरीले छात्रवृत्ति प्राप्त गर्नुभएको छ । यसैगरी दुई वर्षे विज्ञान संकायतर्फ फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सरस्वती च्यारिबुक माध्यमिक विद्यालयकी आङ्छु डोल्मा शेर्पा र सोही गाउँपालिका–३ लिङ्खिमको सिवा माध्यमिक विद्यालयका विक्रम लिम्बूले छात्रवृत्ति प्राप्त गर्नुभएको छ ।
दुई वर्षे शिक्षा, मानविकी तथा व्यवस्थापन संकायतर्फ फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुस्थित सेवालुङ माध्यमिक विद्यालयका टेकहाङ लिम्बू, इखाबुकै सुनदेवी माध्यमिक विद्यालयका रिजन लिम्बू, वडा २ खेजेनिमको खेजेनिम माध्यमिक विद्यालयकी सोनिया लिम्बूले छात्रवृत्ति पाउनुभएको छ । खेजेनिमकै आदर्श माध्यमिक विद्यालयकी शान्ति लिम्बू, सोही गाउँपालिका–१ सावादिनस्थित रविकला माध्यमिक विद्यालयकी नुमा लिम्बूले छात्रवृत्ति प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयकी प्रकृति लिम्बूले पनि उच्च शिक्षा छात्रवृत्ति प्राप्त गर्न सफल हुनुभएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा पहिलो पटक मानव पाइला राख्न सफल आरोही जर्ज बैण्डको सम्झानामा स्थापना गरिएको उच्च शिक्षा छात्रवृत्ति विगत १३ वर्षदेखि वितरण गरिँदै आएको छ । हालसम्म १०६ जना विद्यार्थीले उक्त छात्रवृत्ति पाइसकेका रिड नेपालले जनाएको छ ।
रिड नेपालका अनुसार हालसम्म उच्च शिक्षा अध्ययन गर्ने १०६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दा करिव ८८ लाख १२ हजार ५६ रुपियाँ खर्च भइसकेको छ । भौगोलिक विकटता र दुर्गम क्षेत्र रहेको फक्ताङ्लुङ गाउँपालिकाका सबै सात वडा र सिरिजङ्घा गाउँपालिकाका तीन गरी १० वटा वडालाई कार्यक्षेत्र बनाई रिड नेपालले विगत १७ वर्षदेखि गुणस्तरीय शिक्षा र शैक्षिक सुधारका लागि काम गरिरहेको छ ।
हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोग, शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङ, सिरिजङ्घा र फक्ताङ्लुङ गाउँपालिकाको समन्वयमा रिड नेपालले काम गर्दै आएको छ । विभिन्न छात्रवृत्तिसँगै रिड नेपालले शिक्षक तालिम र सम्मान, शैक्षिक सामग्री सहयोग, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापन, पिउने पानी व्यवस्था, शौचालय निर्माण र विद्यालय भवन निर्माण लगायतका गतिविधि गर्दै आएको छ ।
फक्ताङ्लुङ गाउँपालिकाका वडा १ सावादिन, वडा २ खेजेनिम र वडा ३ लिङ्खिममा कार्यक्षेत्र विस्तार विस्तार गरेका रिड नेपालले यसै वर्षदेखि कोटा थप गरी १२ जनालाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरेको हो । गतवर्षसम्म सात जनालाई मात्र उक्त छात्रवृत्ति वितरण हुँदै आएको छ । कार्यक्षेत्र विस्तार हुनुअघि फक्ताङ्लुङ गाउँपालिकाका चार र सिरिजङ्घा गाउँपालिकाका तीन वटा वडामा रिड नेपालले शैक्षिक गतिविधि गरिरहेको थियो ।