राजन रावत
हुम्ला, असोज ८ गते । हालसम्म बस पार्क नभएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा नयाँ बसपार्कको निर्माण कार्य धमाधम भइरहेको छ । कर्णाली प्रदेश सरकारको आार्थिक सहयोगमा जिल्ला मै पहिलो बसपार्क निर्माण गर्न लागिएको हो ।
बस पार्कको अभाव खड्किरहेको बेला नयाँ बसपार्क सिमकोट गाउँँपालिका– ५ को मैनागाडामा निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताउनुभयो । बसपार्क निर्माण गर्न लागिएको सार्वजनिक जग्गा छ । खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार) एकीकृत पूर्वाधार कार्यक्रमअन्तर्गत नयाँ बस पार्कको निर्माण कार्य सुरु गरिएको बताउँदै हाल काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।
हाल स्काभेटरले माटो खन्ने र सम्याउने कार्य भइरहेको छ भने दक्षिणतर्फ ग्याविक लगाउने कार्य पनि भइरहेको छ । बसपार्क ५० मिटर लम्बाइ र ३५ मिटर चौडाइको निर्माण हुनेछ । बसपार्क निर्माण गरिसक्नुपर्ने अवधि २०८४ वैशाख महिनासम्म भए पनि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी कार्य भई रहेको उहाँले बताउनुभयो । एकीकृत पूर्वाधार विकास कार्यक्रममा बस पार्कसहित छ वटा अन्य योजनाहरु निर्माण हुनेछन् । गत वैशाख २ गते यी योजनना निर्माणका लागि किराँतेश्वर कन्ट्रक्सन डिलिङ कम्पनीसँग ५१ करोडमा सम्झौता भएको थियो ।
यो योजना सङ्घीय सरकार र प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गर्न लागिएको हो । सदरमुकाम सिमकोटमा यातायातका साधन गुड्न थालेको सात वर्ष भए पनि हालसम्म बसपार्क निर्माण नभएको कारण यातायतका साधनहरु सडकमा पार्किङ गर्ने गरिएको कारण सडकमा जाम हुने गरेको छ । यो जिल्लाको एक मात्र पहिलो बसपार्क हुनेछ ।