हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज ८ गते । दसैँतिहारको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर मुस्ताङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि घरपझोङ गाउँपालिका–३, पुथाङ एयरपोर्टमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रमुख जनक श्रेष्ठले बताउनुभयो । यात्रु सहायता कक्षमा बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत देशका विभिन्न जिल्लाबाट मुस्ताङ भित्रिने तथा बाहिरीलाई यात्रुलाई सहज हुने प्रमुख श्रेष्ठले बताउनुभयो ।
यात्रु सहायता कक्षले क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने, यात्रुबाट चालक वा यात्रु चालकबाट असुरक्षित भएको सहित रुट पहिचानमा अलमल पर्ने निजी तथा भाडाका सवारीसाधनलाई समेत सहज हुने गरी सेवा प्रवाह गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल अधिकारीले बताउनुभयो । सहायता कक्षको उद्घाटन कार्यक्रममा प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा लगायतको उपस्थिति रहेको थियो ।
चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीलाई समेत अनुरोध गरिएको छ ।
चाडपर्वमा यात्रुको चाप बढी हुनेहुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता घटनालाई रोक्न जिल्लाभित्रका सबै सडक सञ्जालमा प्रहरी सहितको टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यात्रु वा चालकलाई कुनै समस्या परेमा निःशुल्क टेलिफोन नं १०० मा फोन गर्न समेत अनुरोध गरिएको छ । दसैँतिहारको बिदामा मुस्ताङमा घुम्न जाने आन्तरिक पर्यटकको चाप हुन्छ ।