चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २५ गते । देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले ताप्लेजुङमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय तोडफोड गरेका छन् ।
सो समूहले सदरमुकाम फुङ्लिङमा रहेको कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय मङ्गलबार राति तोडफोड गरेका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल निस्क्रिय गरेको विरोधमा सोमबारदेखि प्रदर्शन सुरु भएको थियो ।
प्रदर्शनका क्रममा १९ जना युवाहरूको मृत्यु भएपछि जेनजी पुस्ताले आन्दोलनलाई थप उग्र बनाएका छन् । ताप्लेजुङमा पनि मङ्गलबार दिउँसो फङ्लिङमा प्रदर्शन र साँझ फङ्लिङ बजारको वीरेन्द्रचोकमा दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको सो समूह बेलुकादेखि तोडफोडमा उत्रेको थियो ।
मङ्गलबार राति करिब ८ बजेपछिबाट जेनजी पुस्ताका नाममा तोडफोडमा उत्रेका समूहले सुरुमा नेकपा (एमाले) को जिल्ला कार्यालयमा तोडफोड गरेको थियो । आफ्नै भवन रहेको पराजुली चौकस्थित एमालेको पार्टी कार्यालयमा प्रवेश गरी जेनजी समूहले टेबल, कुर्सी, दराज लगायतका फर्निचर सामग्री तथा कागजात नष्ट गरेको थियो ।
त्यसपछि पुरानो बैँक लाइनमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा प्रवेश गरी फर्निचरका सामग्री, कागजात लगायतका अन्य सामग्री नष्ट गरेका छन् । सो समूहले कांग्रेसको पार्टी कार्यालय तोडफोडपछि फुङ्लिङ बजारको न्यूरोडस्थित गुराँस टोलमा रहेको माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा राति करिब १० बजेपछि तोडफोड गरेका थिए ।
माओवादी कार्यालयभित्र रहेको फर्निचर, कम्प्युटर, प्रिन्टर लगायतका सामग्री तोडफोड गर्नुका साथै कागजात सहितका सामग्री बाहिर सडकमा निकालेर आगजनीसमेत गरेका छन् ।
जेनजी पुस्ताको नामबाट भएको कार्यालय तोडफोडबाट धेरै क्षति हुन पुगेको सम्बन्धित राजनीतिक पार्टीका नेताले जनाएका छन् । तोडफोडबाट भएको क्षतिको एकिन विवरण आइनसकेको माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो ।