• २० भदौ २०८२, शुक्रबार

नगर अस्पतालमा डायलासिस सेवाको तयारी

blog

डायलासिस सेवा प्रारम्भ गर्न स्वास्थ्य मन्त्रालयले पठाएको मेसिन र अन्य उपकरण ।

सर्लाही समाचारदाता

सर्लाही, भदौ २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिकाले नगर अस्पताल बयलबासमा डायलासिस सेवा सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भर्खरै आवश्यक औजार, उपकरण र स्वास्थ्य सामग्री प्राप्त भएको नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका मिर्गौलाका बिरामीलाई लक्षित गरी ईश्वरपुर नगरपालिका–६, बयलबासमा रहेको नगर अस्पतालमै पहिलो पटक डायलासिस सेवा प्रदान गर्ने तयारी गरिएको हो । 

अहिले पहिलो चरणमा आरो प्लान्ट, मोटर र फिल्टर जडानको काम भइरहेको नगर अस्पताल बयलबासले जनाएको छ । आरो प्लान्टको काम पूरा भएपछि डायलासिस मेसिन जडान गर्ने इन्जिनियर बोलाइने नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले जानकारी दिनुभयो । 

यस क्षेत्रका मिर्गौला पीडित अहिले डायलासिसका लागि जनकपुर, वीरगन्ज, नारायणगढलगायतका सहरमा जान बाध्य छन् । डायलासिसका लागि हैरानी र अत्यधिक खर्च बेहोर्न बाध्य स्थानीयवासीलाई आफ्नै ठाउँमा सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्य रहेको नगरप्रमुख आचार्यले बताउनुभएको छ । 

ईश्वरपुर नगरपालिकाले डायलासिस सेवाका लागि लामो समयदेखि पहल गर्दै आइरहेको थियो । डायलासिस सेवाकै लागि हेल्पिङ ह्यान्डले तीन करोड रुपियाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुख आचार्यको भनाइ छ । डायलासिस सेवा सञ्चालनका लागि नगरपालिकाले राष्ट्रिय मिर्गौला केन्द्र वनस्थलीसँग समन्वय गरी तीन जना स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको र दरखास्त खुलाएर थप जनशक्तिको व्यवस्थापन गरिने स्वास्थ्य शाखा संयोजक महतोले बताउनुभयो । उहाँका अनुसार अहिले प्राप्त दुई वटा डायलासिस मेसिनबाट सेवा प्रारम्भ गरी केही महिनाभित्रैमा नेपाल सरकारको मापदण्ड अनुसार कम्तीमा पाँच वटा डायलासिस मेसिन जडान गर्ने उद्देश्य रहेको छ । 

डायलासिस सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी दुई सय केभीको ट्रान्सफर्मर जडान गरिसकिएको नगर अस्पतालले जनाएको छ । डायलासिस सेवामा बिरामीको चाप हुने आकलनसहित के कसरी सेवा प्रवाह गर्ने भन्ने विषयमा तत्कालै मापदण्ड तयार पारिने नगरप्रमुख आचार्यले बताउनुभएको छ ।