चित्रकुमार मिजार
सिन्धुपाल्चोक, भदौ २० गते । सिन्धुपाल्चोककै सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलबिद्युत आयोजनाले भदौ अन्तिम सातादेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने भएको छ । भदौ १६ देखि उसले परीक्षण रुपमा विद्युत उत्पादन सुरु गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले निरीक्षण गरेर अनुमति दिएपछि व्यापारिक रुपमा विद्यत उत्पादन गर्न लागेको उक्त आयोजनाका कायृकारी अधिकृत रामगोपाल सिवाकोटीले जानकारी दिनुभएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको बाह्रबिसे सबस्टेसन पूरा नभएका कारण सो आयोजनाले उत्पादन गरिरहेको विद्युत ४० किलोमिटर ट्रान्समिसन लाइनमार्फत नयाँ खिम्ती सबस्टेसनमा पु¥याएको छ । त्यसमा मध्यभोटे कोशीको २२० केभी पावर सिधै खिम्ती सबस्टेसनको ४०० केभी पावरमा जोडिएको सिवाकोटीले बताउनुभयो ।
खिम्तीबाट ढल्केश्वर हुँदै राष्ट्रिय प्रसारणको ग्रिडमा विद्युत जम्मा हुनेछ । आयोजनाको तीन वटा टरबाइनमध्ये एक वटा टरबाइन सञ्चालन गरेर परीक्षण रुपमा विद्युत उत्पादन भइरहेको छ । वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने र त्यसबाट पौने तीन अर्ब आम्दानी हुने उहाँको भनाइ छ । आयोजना निर्माण सुरु भएको १४ वर्षपछि उसले बल्ल विद्युत उत्पादनमा लागेको छ । निर्माण पूरा हुदाँ १२ अर्ब ३३ करोड २८ लाख लागत अनुमान गरिएकोमा १४ वर्षसम्म आयोजना निर्माण सम्पन्न नहुदाँ २२ अर्ब लागत भएको आयोजनाले जनाएको छ । निश्च्यित समयमा आयोजना पूरा गर्न नसक्दा उसले अहिले ऋणको दैनिक ५० लाख ब्याज तिरिरहेको छ ।
आयोजनामा चरम राजनीतिक हस्तक्षेप, स्थानीय प्रभावितका अवरोध, आयोजनाका आन्तरिक प्रशासनिय समस्या, कोरोना महामारी, बाढीपहिरो, भूकम्प, भारतीय सीमामा भएको अवरोध लगायतका कारण आयोजना तोकिएको समयमा पूरा हुन नसकेको आयोजनाका सिइयो सिवाकोटीले बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत आयोजना मुख्य प्रवद्धक रहेको सो आयोजना सन् २०१२ मा निर्माण थालिएको थियो ।
भोटेकोशी गाउँपालिका–५ चाकुमा बाँध र बाह्रबिसे नगरपालिका जम्बुमा पावरहाउस रहेको सो आयोजनाले ७.५ किलोमिटर दूरीको सुरुङ निर्माण गरेको छ । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोइलेक्ट्रिक ब्यूरोले सुरुङ निर्माण गरेको थियो । तीन पटकसम्म सो सुरुङबाट पानी चुहिएपछि मर्मतसंभार गरिएको थियो ।