• २१ भदौ २०८२, शनिबार

बागलुङमा एक अर्ब ३३ करोड ८० लाखभन्दा बढि रकम फ्रिज

blog

बागलुङस्थित स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षाको बारेमा जानकारी दिँदै समन्वय प्रमुख अमर बहादुर थापा । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), भदौ २०गते ।
बागलुङमा सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट विभिन्न कार्यक्रमका लागि विनियोजित रकममध्ये एक अर्ब ३३ करोड ८० लाख ६८ हजार रुपियाँ फ्रिज गएको छ ।

जिल्ला समन्वय समिति बागलुङले स्थानीय तह र जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाको तीन दिने समीक्षात्मक कार्यक्रम गरी चालु आर्थिक वर्ष २०८१/८२मा एक अर्ब ३३ करोड ८० लाख ६८ हजार रुपियाँ फ्रिज गएको बताइएको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट जिल्लाकोलागि विनियोजित १२ अर्ब ४७ करोड ८५ लाख ८१ हजार ३८५ रकममध्ये एक अर्ब ३३ करोड ८० लाख रुपियाँ फ्रिज भएको बताउनुभयो । यो कुल बजेटको १० प्रतिशत रकम हो ।

सङ्घीय सरकारबाट १० अर्ब २८ करोड ६१ लाख २६ हजार ३८५ विनियोजन गरिएकोमा नौ अर्ब २७ करोड ९३ लाख २७ हजार ८८ खर्च भएको छ । यो ९० प्रतिशत खर्च रकम हो ।

पूँजिगत तर्फ दुई अर्ब पाँच करोड ५२ लाख सात हजार ३४० विनियोजन भएकोमा एक अर्ब ६९ करोड ३९ लाख ४९ हजार १४१ खर्च भएको छ । यो पूँजीगत तर्फको ८३ प्रतिशत खर्च हो । पूँजीगत तर्फको ३५ करोड ६५ लाख ७८ हजार १९८ रुपियाँ फ्रिज भएको छ ।

चालु तर्फ ८ अर्ब २३ करोड ५५ लाख ९९ हजार ४५ विनियोजन भएकोमा सात अर्ब ५८ करोड ५३ लाख ७७ हजार ९४७ खर्च भएको छ । यो ९२ प्रतिशत खर्च रकम हो । चालु तर्फ ६५ करोड दुई लाख २१ हजार ९७ रुपियाँ फ्रिज भएको छ ।

गण्डकी प्रदेश सरकारबाट बागलुङ जिल्लाका विभिन्न क्षेत्रकोलागि विनियोजित दुई अर्ब १९ करोड २४ लाख ५५ हजारमध्ये एक अर्ब ८६ करोड १२ लाख १२ हजार २२७ रुपियाँ खर्च भएको छ भने ३३ करोड १२ लाख ४२ हजार ७७२ रुपियाँ फ्रिज भएको छ ।

पूूँजीगत एक अर्ब ३४ करोड ४८ लाख ४३ हजार विनियोजन भएकोमा एक अर्ब २२ करोड १२ लाख ९९ हजार ६९९ रुपियाँ खर्च भएको छ । यो पूँजीगत तर्फको ९१ प्रतिशत खर्च भएको छ । पँजीगत तर्फ १२ करोड ३५ लाख ४३ हजार ३०० रुपियाँ फ्रिज भएको छ ।

चालु तर्फ ८४ करोड ७६ लाख १२ हजार विनियोजन गरिएकोमा ६३ करोड ९९ लाख १२ हजार ५२७ रुपियाँ खर्च भएको छ । यो भनेको ७५ प्रतिशत खर्च हो । चालु तर्फको २० करोड ७६ लाख ९९ हजार ४७२ रुपियाँ फ्रिज भएको छ ।ठूलो रकम फ्रिज हुनुमा धेरै कारण रहेको जिल्ला समन्वय प्रमुख थापाको भनाइ छ ।

‘‘ठुलो रकम फ्रिज हुनुमा धेरै कारणहरु छन् ।’’ उहाँले भन्नुभयो, ‘‘ति कारण मध्ये दरबन्दी अनुसारको कर्मचारी नहुनु, विनियोजित बजेटभन्दा कम रकममा ठेक्कपट्टा हुनु, कतिपय आयोजनामा विवाद भएर काम अघि बढ्न नसक्नु हुन् ।’’

थापाले आयोजनाहरुलाई प्रभावकारी बनाउन जनप्रतिनिधिले निरन्तर निगरानी गर्नु पर्ने बताउनुभयो । ‘‘हामीले बजेट छुट्याउने बेलामा हामीले छुट्यायौँ भनेर जस ल्याउनका लागि दौडिन्छौँ तर कार्यान्वयनको सन्दर्भमा एकपटकपनि हेर्दैनौँ ।’’ उहाँले भन्नुभयो, ‘‘यसले गर्दा कतिपय काम गुणस्तरीय नहुने, कतिपय विवादका कारण अघि बढ्न नसक्ने अवस्था रहेको छ ।’’

जिल्ला समन्वय उपप्रमुख होमनाथ शर्माले बजेट विनियोजन गर्दा आम नागरिकको आवश्यकतालाई भन्दा पनि नेताको पहुँचको आधारमा विनियोजन गरिएको भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्नु पर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा  जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले समीक्षात्मक कार्यक्रमले विकास निर्माण कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभएको थियोे ।