गुणबहादुर रोका
सुलीकोट, भदौ १९ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका-४ सौरपानी-रन्चोक जाने मुख्य सडक खण्डको सिम्बुमा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको छ । बुधबार रातीदेखि परेको अविरल वर्षाले बिहीबार बिहान करिब ६:०० बजेदेखि सडक अवरुद्ध भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यस क्षेत्रमा माथिबाट आएको पहिरोले सडकमा ठुला ढुङ्गा, ठुला रुखसहित माटोले सडक ढाकिएको छ । पहिरोमा परी कुनै मानवीय क्षति नभएको पनि उहाँले बताउनुभयो ।
पहिरो पन्छाउन गाउँपालिकाको जेसिबी मेसिन लगाएर हटाउने प्रयास भइरहेको अध्यक्ष भट्टले बताउनुभयाे । अहिले त्यस ठाउँमा नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो हटाउन पहल भइरहेको बताइएको छ ।
त्यस पहिरोले ७ मिटर बाटो अवरुद्ध भएको छ । पहिरो ४० मिटर माथिबाट खसेर सडक अवरुद्ध भएकाले अहिले त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारण बिहानबाट रोकिएका छन् ।
अहिले त्यस क्षेत्रमा गएको ठुलो पहिरो पन्छाउन केही समय लाग्छ, अध्यक्ष भट्टले भन्नुभयो, ‘ठुलो पहिरो गएकाले उक्त सडक खण्डमा सवारीसाधन तथा सर्वसाधरणलाई वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न उहाँले आग्रह गर्नुभयो ।’
सौरपानी-४ को सिम्बुमा गएको पहिरोले आम पालिकावामा पर्न गएको असुविधाप्रति क्षमा याचान गर्दै गाउँपालिकाले नागरिकको सहज यात्राका लागि २-३ वटा जेसिबी प्रयोग गरेर भए पनि सडक सुचारु गर्ने लागिपरेको पालिका अध्यक्ष भट्टले बताउनुभयो ।
पहिरो स्थलमा जेसिबी पुगिसकेकाले अबको केहीबेरमै सवारीसाधान तथा सर्वसाधारणलाई हिँडडुल गर्न सहज गराउने प्रयास भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेको भनाइ छ ।