एकेन्द्र महता
अछाम, भदौ १९ गते । अछाम जिल्लाका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रात भर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रात भर टहरामा जाग्राम बस्न थालेका हुन् । पाक्न तयारी अवस्थामा रहेका अन्न बाली ठुलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थालेपछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन् ।
धान, मकै, कोदो, भटमास, तरकारी लगायत खाद्यान्न बालीमा बथानका–बथान जङ्गली बँदेलले खाने गरेको स्थानीयले बताएका छन् । ढकारी गाउँपालिका वडा नम्बर ८, स्थानीयवासी कृष्ण प्रसाद उपाध्यायले बँदेलले बाली नोक्सान गरी सखाप पारेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बँदेल धपाउन समूह बनाएर रात भर खेत बारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन हम्मे–हम्मे भएको छ ।’’ यहाँ स्थित नेत्र प्रसाद जैशी, भोजराज उपाध्याय, पूर्ण जैशी लगायत ५०/६० जना कृषकले लगाएका अन्न बाली बँदेलले नष्ट गरेको जनाइएको छ । अन्न उत्पादन हुने साठीको माझि, देवकोट, दुवाडी, पलामाजि, फोगट्टेन सासेगैरा, पल्साता लगायतका ठाउँमा जङ्गली जनावर बँदेलले अन्न बाली नष्ट गरेको उपाध्यायले बताउनुभयो ।
“न त रातिमा सुत्नु छ न त बाली नै जोगिएको छ, अब त अतिनै गर्न लागि सके । एकातीर बँदेलले आक्रमण गर्छ की भन्ने चिन्ता लाग्ने गरेको छ ।’’ बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १, गाँज्राका रेबन्त खड्का भन्नुहुन्छ, “जङ्गली जनावरको क्षेतिले गाउँमा बस्ने वातारण नै छैन, खेती नलगाउँ कसरी परिवार पाल्ने? खेती लगाऔँ राति बँदेल र दिउँसो बाँदरले खाई दिने धेरै समस्या भोगि रहेका छौँ ।’’
किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ । “नत जङ्गली बँदेलको नियन्त्रण तिर चासो छ न त क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्”, मेल्लेख गाउँपालिका वडा नम्बर ८, हात्तिकोटका खम्म सुनारले गुनासो गर्नुभयो । धेरै जसो गाउँ त जङ्गली जनावरले गर्ने क्षतिका कारण पनि रित्ता भई सकेका छन्, धेरैले तराइँ तिर बसाईसराइँ गरी सके बाँकी रहेका पनि बसाइँ सर्ने निस्चित जस्तै छ । सुनारका अनुसार धान बाली जोगाउन रात भर जाग्राम बस्नु परेको छ तर पनि ठुलो सङ्ख्यामा बँदेलको बथान आउने भएकाले जिउधनको पनि उतिकै चिन्ता हुन्छ ।
जङ्गली बँदेलले बालीमा क्षति पुर्याउन थाले पछि जिल्लाका किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँवस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दै गएको छ । बँदेलले धान, स–साना केराका कोथा, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ । “हामीले यिनको आतङ्कले पछिल्ला चार/पाँच वर्ष यता राम्ररी बाली लिन पाएका छैनौँ” साँफेबगर नगरपालिका वडा नम्बर १०, घुुघुरकोका कम्मान सिंह खड्का भन्नुुहुन्छ, “अब त यिनकै लागि बाली लगाए जस्तो भएको छ ।” यति मात्रै होईन राति बँदेलले सताउने गरेको र दिउसो बाँदरले अन्न बाली खाई दिनाले हैरानी खेप्नु परेको उहाँले बताउनुभयो ।
यी त प्रतिनिधि ठाउँ र घटना मात्रै हुन् । जिल्लाका सबै पालिकामा जङ्गली जनावर बँदेलले अन्न बाली नोक्सान गर्ने गरेको स्थानीयले बताएका छन् । पछिल्लो समयमा यहाँका किसानले रात भर जाग्राम बसेर जङ्गली बँदेल धपाउन बाहेक बाली जोगाउनै अन्य विकल्प छैन । पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको अन्न बालीमा बँदेलले क्षति पुर्याउँदा किसान निकै निरास भएका छन् ।
अब बँदेल र अन्य जङ्गली जनावर वन्यजन्तु नभएर वस्ती वरपर बसोबास गर्ने जन्तु सरह बनेका संग्राम्तोली सहित अन्य वस्तीका बासिन्दा बताउँछन् । जिल्लाका दस वटै पालिकाका वस्ती वरपर अहिले बँदेलको उत्पातले किसान दिक्क छन् । यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको किसानको दुखेसो छ ।
जङ्गली जनावरले बाली नाली र मानविय क्षति गरेका निवेदनहरु कार्यालयमा थुप्रै आउने गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले बताउनुभयो । क्षतिपूति पाउँ भनेर निवेदन आए पनि क्षतिपूर्ति दिन रकम भने न्यून मात्रामा आउने गरेको उहाँले बताउनुुभयो । उहाँले भन्नुुभयो, “गत वर्षसम्मको मानवीय क्षति र पश धन गरेर पाँच लाख अपुग रकम आएको छ, अब यो वर्षका लागि कति बजेट हाल्दिने हो निश्चित छैन ।” उहाँका अनुसार कार्यालयबाट भने क्षतिपूर्तिका लागि पटक–पटक बजेट माग गरिँदै आएको छ ।