सन्तोष दहित
दाङ, भदौं १९ गते । थारु आयोगले थारु समुदायको पूरातात्विक, ऐतिहासिक र साँस्कृतिक सम्पदाको सूचिकरणसम्बन्धी अध्ययन प्रतिवेदन सङ्गालो प्रकाशन गरेको छ ।
थारु समुदायको बसोबास रहेको जिल्लाहरुमा थारु समुदाय सम्वद्ध सम्पदाहरुको सूचिकरणसँगै अध्ययन प्रतिवेदन प्रकाशन गरेको हो । सातै प्रदेशको थारु समुदायका पुरातात्विक, ऐतिहासिक र साँस्कृतिक सम्पदाको सूचिकरण गरिएको आयोगका कार्यवहाक अध्यक्ष सुवोधसिंह थारुले जानकारी दिनुभयो ।
अध्ययन प्रतिवेदनमा १९१ वटा सम्पादको सूचिकरण गरिएको उल्लेख छ । कोशीमा २७, मधेशमा ७४, बागमतीमा ३६ र गण्डकी प्रदेशमा ३ वटा सम्पदाको सूचिकरण गरिएको छ । यस्तै लुम्बिनीमा ४४, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा १ वटा सम्पदाहरु अध्यय प्रतिवेदनमा उल्लेख छ ।
थारु सम्वद्ध सम्पदामा मन्दिर, दरबार, तालतलैया, गुफा, ठन्वा, वनदेखि पुरातात्विक, ऐतिहासिक र साँस्कृतिक सम्पादाहरुलाई सूचिकरण गरिएको छ । दाङ तुलसीपुर ११ सुकौरास्थित थारु राजा दंगशीरण दरबारदेखि बर्दियाका ठाकुरबाबा मन्दिरसम्म थारु सम्बद्ध सम्पदामा सूचिकरण गरिएको छ । यस्तै सुनसरीको भन्सिया माई थानदेखि गढी वनसम्म उल्लेख गरिएको छ । त्यस्तै, मोरङको जिम्दार पोखरी देखि दाङको बारकुने ताल, सुर्खेतको काँक्रेविहारसम्म थारु सम्बद्ध सम्पदामा सूचिकरण गरिएको ।
करिब चार वर्षको अध्ययन पश्चात थारु समुदाय सम्वद्ध सम्पदाहरु नामक पुस्तक गत वर्ष २०८१ मा प्रकाशन गरिएको आयोगको कार्यवहाक अध्यक्ष थारुले जानकारी दिनुभयो । यस अध्ययन र सूचिकरणले थारु समुदायको पहिचान संरक्षणमा एक कोशेढुंग सावित हुने आशा गरिएको उहाँले बताउनुभयो ।
“थारु समुदायको पहिचानसँग जोडिएका कतिपय साँस्कृतिक सम्पदाहरुको संरक्षण र सम्वद्ध तथा ऐतिहासिक सम्पदाहरुको उत्खनन र अध्ययन अनुसन्धान हुन नसक्दा कयौं सम्पदाहरुको अस्तित्व समाप्त भएकाछन्,’’ उहाँले भन्नुभयो, ‘‘यो अवस्थामा थारु आयोगद्वारा करिब चार वर्षको अध्ययन गरी थारु सम्पदाहरुको सूचिकरण गरी यो पुस्तक प्रकाशन गरेको छ, त्यसैले यो आफैमा महत्त्वपूर्ण छ, यसले थारु समुदायको पूरातात्विक, ऐतिहासिक र साँस्कृतिक सम्पदा उजागर गर्नमा मात्र नभई संरक्षण र प्रवर्धन गर्नमा उत्तिकै सहयोग पुग्ने आशा र विश्वास लिएका छौं ।”
१८५ पृष्ठ रहेको थारु समुदाय सम्वद्ध सम्पदाहरु पुस्तकमा आयोगले थारु समुदायका मूर्त तथा अमुर्त सम्पदाहरुको खोज एवम् अनुसन्धान गरी तिनको भौतिक अवस्था र त्यसको महत्त्व, ऐतिहासिक पृष्ठभूमी लगायत विषयमा दर्शाएको छ । आयोगले यस सम्पदाको अध्ययनलाई विस्तृत खोज अनुसन्धानमुलक नभइ संक्षिप्त रुपको सङ्कलन मात्र भए पनि यससम्बन्धी अध्ययन अनुसन्धानकर्ताहरुका लागि अध्यनको ढोका खोल्नेमा सहयोग पुर्याउने अपेक्षा गरेको छ ।