गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १९ गते । नेपालको जेठो शिक्षण संस्थाका रूपमा परिचित पद्मकन्या बहुमुखी क्याम्पसले हीरक महोत्सव मनाएको छ ।
विभिन्न कार्यक्रम आयोजना गरी अघिल्लो वर्षदेखि मनाइँदै आएको महोत्सवका क्रममा कलेजका विद्यार्थीले नृत्य, सङ्गीत प्रतियोगितामा आफ्नो प्रस्तुति देखाएका थिए । हीरक महोत्सवका अवसरमा पद्मकन्या मधुमय सन्ध्याको पनि आयोजना गरिएको थियो । हास्य कलाकार शैलेन्द्र सिम्खडाले हास्य प्रस्तुति दिनुभएको थियो ।
पद्मकन्या बहुमुखी क्याम्पसले आफ्नो हीरक जयन्तीका अवसरमा भदौ २५ गते निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान र असोज १ गते हीरक जयन्तीको मुख्य कार्यक्रमको आयोजना गरिने जनाएको छ ।