रमेश विश्वकर्मा
गुल्मी, भदौ १९ गते । गुल्मीमा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ। पुल्चोक स्पोट्र्स क्लबले रेसुङ्गा नगरपालिका वडा नम्बर–५, ६ र ७ को सिमानामा रहेको उनायचौर खेलमैदानमा ‘छैठौं पुल्चोक कप–२०८२’ अन्तर्गत बुधबारदेखि छात्रा फुटबल प्रतियोगिताको सुरु गरेको हो ।
क्लबको सातौं वार्षिकोत्सवको अवसरमा छैठौं पुल्चोक कप–२०८२ को आयोजना गरिएको छ । सो प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको हो। प्रतियोगिताको उद्घाटन कर्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख पन्थीले महिला खेलाडी उत्पादनका लागि क्लबले महत्वपूर्ण भूमिका खेलेको भन्दै पुल्चोक स्पोर्टस क्लबको प्रसंशा गर्नुभयो ।
खेलकुदको विकासका लागि नगरपालिका सधै तत्पर रहेको बताउँदै प्रतियोगितालाई मर्यादित ढङ्गबाट सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो । खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रतियोगिताको माध्यमबाट भोलिको दिनमा गौरव गर्न सक्ने खेलाडि उत्पादन हुने नगरप्रमुख पन्थीले बताउनुभयो ।
छैठौं पुल्चोक कप–२०८२ अन्तर्गतको जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्रा फुटबल प्रतियोगिता भदौ २१ गतेसम्म चल्नेछ । क्लबले यस जिल्लामा महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विगतदेखि नै छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्ल्बका अध्यक्ष महासचिव प्रकाश मरासिनीले बताउनुभयो ।
प्रतियोगितामा यस जिल्लाका विभिन्न कुल ११ विद्यालयले सहभागिता जनाउने भएका छन्। प्रतियोगिताको पहिलो खेल रिडर्स पब्लिक हाई स्कुल र गण्डकी इङ्गलिश बोर्डिङ स्कुलबीच हुनेभएको छ । जनसहयोग माध्यमिक विद्यालय र लिटिल स्टार इङ्गलिश, ब्रिलियन्ट युनाइटेड एकेडमी र आदर्श विद्या आश्रम, महेन्द्र माध्यमिक विद्यालय र सिद्धबाबा माध्यमिक विद्यालयबीच समुह चरणका खेलहरु हुने आयोजकले जनाएको छ ।
त्यस्तै, रेसुङ्गा माध्यमिक विद्यालय, उपल्लो तम्घास माध्यमिक विद्यालय र अर्जुन इङ्गलिश बोर्डिङ्ग स्कुलले समूह चरणबाट जितेर आएका विद्यालयसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पुल्चोक कप–२०८२ विजेताले ३४ हजार ४४४ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले २३ हजार ३३३ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । तम्घासमा विगत सात वर्षदेखि क्रियाशील यस क्लबले माध्यमिक विद्यालयस्तरका छात्राहरुलाई हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरी महिलाहरुको खेलकुद विकासमा योगदान पुर्याउँदै आएको छ ।
तम्घासस्थित चिदिचौर खेलमैदानमा निर्माणको काम भइरहेको हुँदा यस वर्षको पुल्चोक कप रेसुङ्गा नगरपालिका वडा नम्बर–५, ६ र ७ को सिमानामा रहेको उनायचौर खेलमैदानमा आयोजना गरिएको हो। क्लबे टोल–टोलमा सरसफाई, आर्थिक अभावका कारण उपचार पाउन नसकेका मानिसहरुलाई आर्थिक सहयोगसँगै विभिन्न सिर्जनशील कार्य गर्दै आएको बताइएको छ ।