अनिल पराजुली
हेटौँडा, भदौ १८ गते । चेपाङ समुदायको मुख्य पर्व न्वागी (छोनाम) को अवसर पारेर मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा तीन दिन सार्वजनिक बिदा दिइएको हो ।
पालिकाले न्वागीको अवसरमा भदौ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक बिदाको बारेमा जानकारी गराइएको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरूमा बन्द हुने जानकारी दिनुभयो ।
सूचनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अङ्गको रूपमा प्रकृति पूजक अति सीमान्तकृत चेपाङ जातिको महत्त्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा यही मिति २०८२ भदौ २१, २२ र २३ गते तीन दिन राक्सिराङ गाउँपालिका भरी स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको कुरा उल्लेख गरिएको छ ।
साथै सूचनामा चेपाङ समुदायको महत्त्वपूर्ण यस पर्वको अवसरमा सम्पूर्णमा सुख, शान्ति, सम्वृद्धिको कामना गर्दै पर्व हर्षोल्लासका साथ मनाउनुहुन सम्पूर्ण राक्सिराङवासी तथा देश विदेशमा रहनु भएका चेपाङ समुदायप्रति शुभकामना व्यक्त गरिएको छ । यस पालिकामा ४३.९६ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ ।