• १९ भदौ २०८२, बिहिबार

कर्णाली कोरिडोर पहिरोले अवरुद्ध

blog

खार्पुनाथ गाउँपालिका–५ को कुरिल्लामा पहिरो खसेर अवरुद्ध भएको सडक ।तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, भदौ १८ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डको सडक एक दर्जन स्थानमा अवरुद्ध भएको छ । ती स्थानमा माथिबाट खसेको पहिरोले सडक पुरिने र भासिने भएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो । कोरिडोरको हुम्ला खण्डभर दर्जन स्थानको सडकलाई पहिरो क्षति पु¥याएपछि यातायात सेवा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । आइतबारयता तीन दिन लगातार वर्षा भइरहेका कारण मङ्गलबार बिहानैबाट सडकमा पहिरो खस्न सुरु भएपछि यातायात सेवा अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । कर्णाली कोरिडोरको खार्पुनाथ गाउँपलिका–५ को कुरिल्लामा माथिबाट पहिरो खसेर सडक पुरिदा सडक अवरुद्ध भएको छ । यसबाट दुवैतर्फ यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो । 

त्यसयता यातायात सेवा पनि अवरुद्ध भएको छ । माथिबाट पहिरो आउँदा एक सय मिटर सडक पुरिएकाले सिमकोटबाट सुर्खेत, नेपालगन्ज र जिल्लाका अन्य भागमा जाने १२ वटा यातायातका साधन रोकिएका छन् भने सिमकोटतर्फ आउने क्रममा रहेका चार सवारीसाधन पनि खार्पुमा रोकिएका छन् । पैदलयात्रु राजबहादुर शाहीले पहिरोले सडकलाई ठुलो क्षति पु¥याएको बताउँदै त्यसको मर्मत नगर्दासम्म यातायात सेवा नियमित हुने सम्भावना नरहेको बताउनुभयो । यात्रलेु भने पैदल हिँडेर आउजाउ गर्न सुरु गरेका छन् । 

प्रहरीका अनुसार खार्पुनाथ गाउँपलिका–५ कै बोक्चेगौँडामा पनि माथिबाट खसेको पहिरोले सडक अवरुद्ध पारेको छ भने सो स्थानभन्दा एक सय मिटर दक्षिण क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ । सर्केगार्ड गाउँपालिका–६ को गिउसीमा पनि २० मिटर सडकमा पहिरो गएर सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१ को खच्चामा पनि दुई स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यी स्थानमा वर्षा भइरहेका कारण खसेको पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्य सुरु हुन सकेको छैन । यता कोरिडोरकै सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोला क्षेत्रको पाँच स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।