• १८ भदौ २०८२, बुधबार

सन् २०२५ मा युरोपेली सङ्घको रक्षा खर्च ३८१ अर्ब युरोमा पुग्ने

blog

ब्रसेल्स, भदौ १७ गते । युरोपेली सङ्घ (इयु) को सैन्य खर्च सन् २०२५ मा तीन खर्ब ८१ अर्ब युरोको नयाँ रेकर्डमा पुग्ने अपेक्षा गरिएको छ । रुसलाई रोक्नका लागि सदस्य राष्ट्रले थप बजेट छुट्याएको युरोपेली रक्षा एजेन्सी (इडिए)ले मङ्गलबार जनाएको छ ।

नाटोका युरोपेली सदस्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा व्यापकरूपमा खर्च बढाउने प्रतिबद्धता जनाएपछि यस वर्ष खर्च १० प्रतिशतले बढेको हो । “युरोपले आफ्ना जनतालाई सुरक्षित राख्न रक्षामा अभूतपूर्व खर्च गरिरहेको छ र यो केवल सुरुआत मात्र हो”, इयुका विदेश नीति प्रमुख काजा कल्लासले भन्नुभयो । इडिएका अनुसार यस वर्षको कुल रकममध्ये करिब एक खर्ब ३० अर्ब युरो नयाँ हतियार लगायत लगानीमा खर्च भइरहेको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली मुलुकले रक्षा खर्चमा तीव्र वृद्धि गरेका हुन् । गत हप्ता युरोपेली आयोगले एक खर्ब ५० अर्ब युरोको इयु ऋण योजना पूर्णरूपमा सदस्यता लिएको जनाएको थियो । जसले सदस्य राष्ट्रलाई रक्षा खर्च बढाउन सहयोग पुर्‍याउनेछ । सत्ताइस सदस्य राष्ट्रमध्ये १९ ले यस कोषमा आवेदन दिएका छन् ।

यस सुरक्षित योजनाले देशलाई इयुको केन्द्रीय बजेटको ग्यारेन्टीमा सस्तो ऋण प्राप्त गर्न सहज बनाउँछ । पश्चिमी सेना र गुप्तचर निकायले युक्रेनमा युद्ध समाप्त भएमा मस्को तीनदेखि पाँच वर्षभित्र कुनै नाटो मुलुकमाथि आक्रमण गर्न सक्षम हुन सक्छ भन्ने चेतावनी दिँदै आएका छन् । तर लामो समयदेखि युरोपको न्यून रक्षा खर्चप्रति आलोचक रहेका राष्ट्रपति ट्रम्पको यस वर्ष पुनरागमनले युरोपलाई नयाँ चुनौती थपेको छ ।

अस्थिर भनिएका अमेरिकी नेताले गत जुलाईमा भएको शिखर सम्मेलनमा नाटो सहयोगीलाई आफ्ना कुल गार्हस्थ उत्पादन (जिडिपी) को पाँच प्रतिशत सुरक्षा खर्चमा छुट्याउने प्रतिबद्धता गराउन बाध्य पार्नुभएको थियो । यो हेडलाइन लक्ष्यअन्तर्गत कोर रक्षा खर्च तीन दशमलव पाँच प्रतिशत र पूर्वाधार तथा साइबर सुरक्षा जस्ता क्षेत्रमा एक दशमलव पाँच प्रतिशत छुट्याउने व्यवस्था गरिएको छ ।

“जिडिपीको तीन दशमलव पाँच प्रतिशतको नयाँ नाटो लक्ष्य पूरा गर्न अझ बढी प्रयास आवश्यक छ, जसका लागि एक वर्षमै कुल छ खर्ब ३० अर्ब युरोभन्दा बढी खर्च हुने अनुमान गरिएको छ”, इडिए प्रमुख आन्द्रे डेन्कले भन्नुभयो । रासस/एएफपी