• १४ भदौ २०८२, शनिबार

मिस्टिन, सालको रुख र सम्झना

blog

बुवा ! तपाईंले छोडेर गएको २०५५ साल जेठ १६ गते तर भर्खरै झैँ लाग्छ । मलाई किन हरेक छुटिजाने आफन्तको झल्को आइरहन्छ हरपल हरक्षण । आज २८ वर्षअघि फर्किएर अनि अलिकता वर्तमानमा बल्झिएर तपाईंलाई सम्झिरहेछु । त्यही अस्पतालमा त हो दुई महिनाअघि आमाको घाँटीको अपरेसन भएको । त्यो बेला तपार्इं हस्याङफस्याङ गर्दै मैलो कुर्था पाइजामा लगाएर आमालाई भेट्न पुग्नुभएको ।

जेठको महिना, वरिपरि घनाजङ्गलले घेरेको पथरीबजार, खपिनसक्नुको उखरमाउलो गर्मी, त्यस्तै बेलुकीको ४ बजेको हुनु पर्छ, खबर आयो बजारमा, जेठासुब्बा लडेर घाइते भए । भागडुगराको बिएस अस्पतालमा पु¥याएपछि भोलि पल्ट मात्रै मैले तपाईंलाई देखेँ । इमर्जेन्सी वार्डमा खुट्टालाई रडले छेँडेर पल्टाइरहँदा पहिलो पालि तपाईंको आँखामा अजीवको भाव देखेँ । एक हारेको मान्छे जस्तो । छेउको कुर्सीमा बसेर भिजेको रुमालले तपाईंको अनुहार पुछिदिँदै आमाले “अझै मलाई कति दुःख दिनु छ, ढुङ्गामा पछारे पनि मर्दैनन् विमलाका बाउ ! पिर नगर निको भएपछि फेरि धित मरुन्जेल रक्सी खाउँ” भनेको शब्द अहिले पनि कानमै छ । आमाले यसो भनिरहँदा सिलिङमा विस्तारै चलिरहेको पङ्खामा तपाईंको आँखा डुलिरहेका थिए । भावबिनाको त्यो आँखाले साँच्चै के सम्झिरहेका थिए होलान् ? सायद कारगिलको चिसो पहाडमा पाकिस्तानी सैनिकसँग युद्व लड्दाको क्षण अथवा मलेसियाको घनाजङ्गलमा भोकभोकै भौँतारिएको पल, बु्रनाईका सुदूर गाउँ, पाखा, मैदान र पहाडमा बैँसको महत्वपूर्ण समय गोरेटो बाटो खन्न, परेट खेल्नमै बिताएका ती दिन । कहिलेकाहीँ रक्सी खाएको बखत भन्नुहुन्थ्यो, “पुग्यो मलाई यो जुनीमा सिन्का त मुस्किल हुन्छ पराल पनि भाँच्दिनँ ।” मान्छेको जीवन नै अधुरो स्मृतिको सँगालो रहेछ । सायद यी भोगाइले तपाईंलाई निराशाबाहेक केही दिएन  । 

म अहिले पनि सम्झन्छु उज्यालो र धपधपी बल्ने अनुहार, ठुलो निधार, देब्रेतिर लरक्क फर्किएको कपाल अनि सेतो दौरासुरुवाल, कालो पावरवाला चस्मा, बुवाको व्यक्तित्व वास्तवमै भव्य देखिन्थ्यो तर त्यो उज्यालोपन अब बाँकी रहेन । साँच्चै समयले मानिसलाई कहाँबाट कहाँ पु¥याउँदो रहेछ । रक्सीले जितिसकेको त्यो अनुहार कमजोर र गले झैँ देखिन्थ्यो । यहाँ आउनुभन्दा केही हप्ताअघि त हो उहाँले भोगेको जीवनका ती दिनलाई लयबद्ध सुनाउनुभएको । कसरी गाउँबाट बुवा बढाबा साँगुरीभन्ज्याङ हुँदै धरान झर्नुभयो । एकै सासले छिचोलेको साँगुरीभन्ज्याङ अनि त्यो बेलाको धरानको ठाडो लाइन पुतलीबजारको चहलपहल बुवाले सुनाइरहँदा ममाथि भेडेटारबाट राति तल झिलीमिली देखिने धरानलाई सम्झन्थँे, धेरै वर्षअघि मावली बोजुलाई आमाले मधेश झार्दा हामी बस बिग्रिएर राति भेडेटारमै अल्झिएका थियौँ तर म बच्चालाई के थाहा त्यो आपत् ? पूर्वी पहाडका सबै तन्नेरी जति लाहुर लाग्न घोपा क्याम्प आउने थलो थियो धरान, हरेक पल्ट बुवाले पल्टनका संस्मरण सुनाउँदा म ती कथा चाख मानेर सुन्थेँ । रोग र सङ्घर्षले थलिएको उहाँको शरीर वास्तवमै त्यस्ता कैयौँ घटनाको साक्षी हो जसलाई म आत्माले अनुभूत गर्थें, लयबद्ध रूपमा कथा भनिरिहँदा म त्यसै त्यसै आन्दोलित हुन्थेँ तर तपार्इं आफैँले बाँची ल्याएको जीवन चाहिँ कुनै रोमाञ्चकारी कथाभन्दा कम छैन । सायद यसैले त तपाईंको जीवनको हरेक क्षण मेरा निम्ति प्रिय छ ।

बुवा मैले तपाईंलाई कहाँ सम्झेको छैन र धरान, पथरी अनि पथरीबजार उत्तरपट्टिको चिहानधारी, लामाटोली साइँली, काइँलीको रक्सी पसल अथवा हाटखोला जहीँ तहीँ तपाईंको त्यो भव्य आकारलाई देखिरहेको हुन्छु जब म ती बाटोमा हिँडिरहेको हुन्छु, केही सपनाको साथ । हिँड्नु त मलाई छँदै छ तर तपाईंले हिँडी आएका ती सबै बाटो मेरा निम्ति एक आधार हुन्, साहस र हिम्मतको कहिले नसकिने सङ्घर्षसँग जुध्न । तपाईं बितेको दुई दशक बित्यो तर तपाईंलाई हामीले बिर्सनै सकेनौँ बुवा ! र त यो बिरानो सहरमा तपाईंको सम्झना लिएर बाँचिरहेछौँ आमा र म । कहिलेकाहीँ आमा भन्नुहुन्छ, “तेरो बाउ मरे पनि उसकै पसिना खाएर बाँचेको छु ।” सम्झनामा जहीँतहीँ आजसम्म तपाईं साथै हुनुहुन्छ । जब आमाले पेन्सन थापेर हजारको नोट गनिरहनुहुन्छ उज्यालो अनुहार बनाएर, म तपाईंलाई देख्छु । अब त ज्वाइँ छ अनि तपाईंकी नातिनी योन्छेन । उसको स्वभाव र दिमाग ठ्याक्कै तपाईं र ज्वाइँतिरै गएको छ । 

बुवा ! साँच्चै ती प्रेमिका कहाँ हराए होलान् ? जो तपाईंसँग मरिमेट्थे, तपाईंको बोली र मुस्कानमा मोहित हुन्थे । मलाई अहिले पनि सम्झना छ सोल्टिनीहरू कसरी मरिमेट्थे तपाईंप्रति । अस्पतालको बेडमा लडिरहेको त्यो कमजोर शरीर सम्झँदा लाग्छ आखिर सकिजाने बैँस र पैसा यी दुवैको कुनै अर्थ रहेन छ आखिरी समयमा । रुखबाट झरी गएको पहेँलो पात झैँ एक्लो हुने रहेछ । उजाड उजाड रुखलाई पानी र घामले साथ दिए झैँ मान्छेलाई पनि सहारा चाहिने रहेछ । 

ती ती नागीका फराकिला पाखा, ती घोरेटो बाटो, ती लालीगुँरास र सल्लाका रुख जसलाई धेरै वर्षपछि मेरा खुट्टाले स्पर्श ग¥यो र मैले सम्झिएँ यी बाटालाई मेरो बुवाको पाउले छोएको छ । बुवा, पहाडको तीनराते हाटबजारलाई चटक्कै छोडेर कसरी जान सक्नुभयो ? भयानक ती समुद्री छालसँग लड्दै जुघ्दै हजारौँ माइलको यात्रा गरेर मलेसिया र ब्रुनाई कसरी पुग्नुभयो ? अनि बिरानो देशमा पुग्दा साँच्चै तपाईंले के सोच्नुभयो ? आखिरीमा तपाईंलाई अभाव र गरिबीले त पु¥याएको थियो होला त्यति टाढा । त्यो बेलाको ब्रुनाई र मलेसियामा न भाषा मिल्नु न वेशभूषा, न प्रविधिको विकास ? कुन आँटले बन्दुक बोक्नुभयो ? कसरी महिनौँ लडाइँ लड्नुभयो ? खाली हात नेपाल फर्कनु सायद यी सबै कारण थिए तपाईंभित्रको शून्यता । मलाई अझै याद छ धेरै वर्षअघि जुनेली रातमा तपाईं चिहानधारीको फलैँचामा घन्टौँ टोलाएर बसेको । मैले कसरी ती जुनेली रातमा चुपचाप तपाईंलाई पछ्याइरहँे । अहिले सम्झँदा झसङ्ग हुन्छु । किन त्यसरी उदास उदास बस्नुहुन्थ्यो त्यो बुझ्न मलाई दशक लाग्यो । अहिले हो भने म तपाईंलाई ढाडस दिन्थेँ, “म छु” भन्थेँ ।   

तपाईंले रक्सीको सुरमा लडाइँको संस्मरण भनिरहँदा मेरो आङ सिरिङ्ङ हुन्थ्यो । सुनिस सावामा, प्लेन नै प्लेनमा हिँड्दा पनि मनमा सधैँ यही लामकटेरीको माया लाग्थ्यो,” यसो भनिरहँदा बुवाको आँखा र बोलीमा अर्कै जोस देखिन्थ्यो तर अब समय त्यस्तो रहेन, कमजोर र शिथिल भइसकेको त्यो ज्यान पर भित्तामा झुन्डिएको सुर्के झोला झैँ थियो, जसलाई हावाको एक झोक्काले हल्लाई जान्छ । जब मान्छेलाई रक्सीले जित्छ सबै कुरा सकिँदोरहेछ । अब बुवासँग बाँकी सपना थिएन, एउटै इच्छा थियो, कतैबाट बुढीले एक ट्वाक जोहो गरिदियोस् तर कहाँ सम्भव हुनु विदेशमा त्यो पनि इमर्जेन्सी वार्डमा । जहाँ मेरो बुवा बाँच्ने आशासाथ बेडमा पल्टिरहनुभएको थियो ।

स्मृति पनि कति कति अब ‘मिस्टिन’ को कथा भन्छु है । घरमा एउटा पुरानो ‘मिस्टिन’ थियो मलेसियाबाट ल्याएको । लडाइँ हुँदा मलेसियाको जङ्गलमा यही मिस्टिनमा भात खाँदै लडाइँ लडेको रे । लडाइँको चिनो भने पनि पल्टनको चिनो भने पनि त्यही ‘मिस्टिन’ थियो । म चाहिँ त्यो मिस्टिन बजेको सुन्नै नसक्ने, त्यसको आवाजदेखि मलाई वितृष्णा थियो । पुरानो सकुवाको खाटमा बसेर मलेसिया र फोक्ल्याडको युद्धमा कैयौँ दिनसम्म शत्रुसँग लडाइँ लडेको, भोकभोकै जङ्गलमा कैयौँ रात बिताएको, गोली लागेर ढलेका साथीलाई मृत्यु सहज होस् भनेर आफैँले गोली ठोकेर हिँडेको कथा सुन्दा मेरो आङै सिरिङ्ग हुन्थ्यो । बुवाले मलाई यी कथा गर्मीयामको रातमा जून हेर्दै सुनाउनुहुन्थ्यो । म बुवासँगै गुन्द्रीमा सुतेर जून हेर्दै सुन्थेँ । कहिलेकाहीँ माथि देखिएको बादल निकै नजिक भएर छिटो छिटो हिँड्थ्यो । त्यो बखतको अनुभूतिलाई म अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ ।  

आँसुले भिजेको पोथाङले बुवाको मुखबाट फुत्किएको ¥याल पुछिदिँदै आमाले माथि पहाडमा बस्ने साक्खेभाइको खबर सुनाउँदा बुवा केही बोल्नु भएन, किन बोल्नु भएन । “तिमेरु सप्पै साहु नै रहेछौ, के को मर्ने कुरा गर्छौं,” आँखाबाट झरेको आँसु सुकेर हड्डी र छाला मात्रै भएको त्यो शरीर, कत्रो निराशा थियो मेरो आमाभित्र उफ सक्ने भए ती सबै दुःखलाई छेकिदिन्थेँ । 

सधैँ कामको छटारोबिच हतासिएकी मेरी आमालाई कहिले फुर्सदमा देखिनँ । सुँगुरलाई चारो जोहो गर्नु, रक्सी पार्नु, जाँड पकाउनु, जङ्गल जानु, परपाहुना, इस्टमित्र सारा संसार थान्नु, सधैँको धपेडी र हतास । बिहे भएको १७ वर्षसम्म सन्तान नहुनुको पीडाबिच जन्मिएका दुई वटा भाइ मरेपछि बाँचेको म आमाको ढुकढुकी नै थिएँ । काखमा लुटपुटिँदा आमाको लुङ्गीबाट निस्किएको गन्ध अहिले पनि नाकैमा छ, ठिक त्यही भरोसाका साथ नजिकै आमाको छेउमा टाँसिएर बुवालाई हेरिरहेको थिएँ । 

धेरै वर्षपछि हङकङ जाँदा दयान र काजीसँग भेट भयो, जो बच्चाको साथी थिए अनि अनि वसन्ती फुपू । आँखामा आत्मीयता र विस्मृतिको धुमिल सम्झना अगाडि फेरि आँखाबाट आँसु थाहै नपाई कतिखेर झ¥यो थाहै भएन किनकि वसन्ती फुपूलाई भेट्नु अतीतका त्यस्ता धेरै स्मृति बल्झिनु थियो । त्यो रातभर बुवाको कुरा ग¥यौँ, हामी फुपू भदैनी । हामी फेरि विस्मृतिको पुरानो समयसामु उभिएका थियौँ । 

मेरो न्वारानको दिन उज्यालो हुनुअघि पूरै घर बुवाले लिपेको । आमालाई खुसीले जाँडसँगै कुखुराको मासु पकाएर दिएको यी सस्मरण मेरो जीवनको सुन्दर पल हुन् जो म बच्चामा पटक पटक आमालाई भन्न लगाइरहन्थेँ । 

यो पल्ट पथरी पुग्दा म दोस्रो पल्ट २६ वर्षपछि तपाईंलाई राखेको जमिनमा पुग्दा त्यहाँ ठुलो सालको रुख उभिएको देखेँ, सायद यो २७ वर्षमा तपाईं फेरि सालको रुख भएर बाँचिरहनुभएको छ र त मेरो जीवन गतिशील छ बुवा ।