• ११ भदौ २०८२, बुधबार

संयुक्त राष्ट्रसङ्घः गाजामा पत्रकारको हत्या विश्वलाई स्तब्ध पार्ने घटना, तुरुन्त कारबाहीको आवश्यकता

blog

जेनेभा, भदौ ११ गते । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसिएचआर)ले गाजा पट्टीमा पत्रकारको हत्या विश्वलाई स्तब्ध पार्ने घटना भएको र यसले जवाफदेहिता तथा न्यायको माग गर्दै तुरुन्त कारबाही गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।

ओएचसिएचआरका प्रवक्ता थमिन अल-खितानले इजरायली कब्जा बलले खान युनुसस्थित नासेर अस्पतालमा छोटो अवधिमा दुई पटक हवाई आक्रमण गरेको बताउनुभयो । सोमबार नासेर अस्पतालमा भएको हवाई आक्रमणमा पत्रकारको हत्यासम्बन्धी प्रश्नको उत्तर दिंदै उहाँले भन्नुभयो, “हामीलाई थाहा छ कि पाँच पत्रकार मध्ये एक जना पहिलो आक्रमणमा मारिएका देखिन्छन् भने महिला पत्रकारसहित अन्य तीन जना दोस्रो आक्रमणमा मारिएका छन् । यो अत्यन्तै धक्का दिने र अस्वीकार्य घटना हो ।”

उहाँले भन्नुभयो, “सन् २०२३ अक्टोबर ७ देखि गाजामा कम्तीमा दुई सय ४७ प्यालेस्टिनी पत्रकारले ज्यान गुमाइसकेका छन् । यी पत्रकार विश्वका आँखा र कान हुन्, उनी सुरक्षित हुनुपर्छ ।” अल-खितानले अस्पताललाई लक्षित गरेजस्तै पत्रकारलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मान्यता अनुसार निषेधित भएको प्रस्ट पार्नुभयो । 

साथै उहाँले इजरायली कब्जा अधिकारीहरूले यी घटनाको अनुसन्धान गर्ने घोषणा गरे पनि ‘ती अनुसन्धानले परिणाम दिनैपर्छ, न्याय हुनुपर्छ’ भन्दै अहिलेसम्म कुनै ठोस परिणाम वा जवाफदेहिताका उपाय नदेखिएको बताउनुभयो । ओएचसिएचआरका प्रवक्ताले अझैसम्म विश्वले यी हत्याबारे कुनै ठोस नतिजा वा जवाफदेहिताका कदम नदेखेको र अनुसन्धानका प्रतिवेदन सार्वजनिक नभएको तथ्य पनि उजागर गर्नुभयो । रासस/क्युएनए