• ११ भदौ २०८२, बुधबार

अमेरिकी कार्यस्थलमा युवा कामदार एआई प्रतिस्थापनको जोखिममाः अध्ययन

blog

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते । कृत्रिम बुद्धिमत्ता (एआई)ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई-सम्बन्धित व्यवसायमा रोजगारी १३ प्रतिशतले घटेको देखिएको छ ।

यो अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्री एरिक ब्रिनजोल्फसन, भारत चन्द्र र रुयु चेनले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठुलो पेरोल प्रोसेसिङ कम्पनी अटोमेटिक डाटा प्रोसेसिङको तथ्याङ्क प्रयोग गरी गरेका हुन् । अध्ययनले सन् २०२५ जुलाईसम्मका दशौँ हजार कम्पनीको रोजगारी ढाँचा ट्रयाक गरेको थियो ।

अध्ययनको निष्कर्षले पहिलो पटक ठुला स्तरमा च्याटजिपिटी जस्ता उत्पादक एआई उपकरणले रोजगार बजारलाई पुनः आकार दिइरहेको प्रमाण प्रस्तुत गरेको छ । अध्ययनमा भनिएको छ, “जेनेरेटिभ एआईलाई व्यापकरूपमा अपनाएपछि सबैभन्दा बढी एआई-सम्बन्धित व्यवसायमा प्रारम्भिक क्यारियरका कामदारले कम्पनी स्तरका अन्य प्रभाव नियन्त्रण गरिसकेपछि पनि रोजगारीमा १३ प्रतिशत गिरावटको अनुभव गरेका छन् ।” 

यसमा जागिर कटौती नै मुख्य कारण रहेको र तलब कटौती माध्यमिक भएको उल्लेख गरिएको छ । यी परिवर्तनको सबैभन्दा ठुलो असर युवा सफ्टवेयर विकास कर्ता र ग्राहक सेवा प्रतिनिधिले बेहोरेका छन् । २२ देखि २५ वर्ष उमेरका सफ्टवेयर विकास कर्ताको रोजगारी सन् २०२२ को अन्त्यमा देखिएको शिखर अवस्थाबाट झण्डै २० प्रतिशतले घटेको छ भने सोही पेशामा वृद्ध कामदारको रोजगारी स्थिर वा बढ्दो देखिएको छ ।

लेखकले एआई-प्रभावित रोजगारीमा युवा कामदारको गिरावटलाई समग्र कार्यबलमा हुने आगामी ठुलो परिवर्तनको प्रारम्भिक चेतावनी सङ्केतका रूपमा व्याख्या गरेका छन् । शोध कर्ताले ३५ देखि ५० लाख कामदारको मासिक पेरोल रेकर्डको विश्लेषण गर्दै रोजगारी वर्गीकरणलाई अघिल्लो शैक्षिक अध्ययनद्वारा परिभाषित एआई एक्सपोजर सूचकसँग जोडेका छन् । नतिजामा, एआईले कार्य स्वचालित गर्ने व्यवसायले रोजगारीमा तीव्र गिरावट भोगे भने एआईले मानव क्षमतामा सहयोग गर्ने कामले निरन्तर वृद्धिको अनुभव गरे ।

यो समय सन् २०२२ नोभेम्बरमा च्याटजिपिटीको सुरु हुने अवधिसँग मेल खान्छ, जसले अमेरिकी कार्यस्थलमा एआई उपकरणको तीव्र प्रयोगलाई गति दियो । सन् २०२५ को मध्यसम्ममा, अमेरिकी सर्वेक्षणमा सहभागी मध्ये ४६ प्रतिशतले आफ्ना कार्यस्थलमा ठुला भाषा मोडेल प्रयोग गरेको बताएका छन् । यद्यपि अध्ययनले एआईको प्रभाव व्यवसायको प्रकार अनुसार निकै फरक पर्ने देखाएको छ । 

स्वास्थ्य सहयोगी, नर्सिङ सहायक र अन्य कम एआई–प्रभावित भूमिकामा युवा कामदारको रोजगारी बढेको छ । एआईले मुख्यतया विद्यालयमा सिकाइने संहिता बद्ध ज्ञानलाई प्रतिस्थापन गर्छ, तर कार्य अनुभवबाट प्राप्त मौन ज्ञानलाई भने प्रतिस्थापन गर्न सक्दैन भन्ने शोध कर्ताको सुझाव छ । रासस/सिन्ह्वा