कोपनहेगन, भदौ ११ गते । डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित कम्तीमा तीन व्यक्तिले ग्रिनल्यान्डमा गोप्य प्रभाव सञ्चालन गरिरहेको रिपोर्ट सार्वजनिक गरेको छ ।
आर्कटिक क्षेत्रमा रहेको विशाल अर्ध-स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्ड लामो समयदेखि ट्रम्पको चासोको केन्द्रमा रहेको छ । तर संयुक्त राज्य अमेरिकाको नाटो सहयोगी डेनमार्क र ग्रिनल्यान्ड दुवैले उक्त टापु बिक्रीका लागि नभएको स्पष्ट गर्दै त्यहाँ अमेरिकी गुप्तचर गतिविधिको रिपोर्टको कडा शब्दमा निन्दा गरेका छन् ।
सार्वजनिक प्रसारणकर्ता डीआरले बुधबार प्रकाशित गरेको रिपोर्ट अनुसार, डेनमार्क र सुरक्षा निकायका नाम नखुलाइएका स्रोतसँगै ग्रिनल्यान्ण्ड र अमेरिकाका अज्ञात सूचनादाताले ट्रम्पसँग सम्बन्धित कम्तीमा तीन अमेरिकीले यस क्षेत्रमा ‘प्रभाव सञ्चालन’ गरिरहेको विश्वास गरेका छन् । तीमध्ये एक व्यक्तिले अमेरिकी समर्थक ग्रिनल्यान्डवासीको सूची तयार गरेको, ट्रम्पको विरोध गर्नेको नाम सङ्कलन गरेको र अमेरिकी सञ्चार माध्यममा डेनमार्कलाई नकारात्मकरूपमा देखाउन सकिने घटना पहिचान गरेको बताइएको छ ।
अन्य दुई व्यक्तिले भने राजनीतिज्ञ, व्यवसायी र स्थानीयसँग सम्पर्क स्थापित गर्ने प्रयास गरेको रिपोर्टमा उल्लेख छ । ‘प्रभाव सञ्चालन’ भन्नाले समाजका मानिसको सोचाइलाई राजनीतिक, सैन्य वा अन्य उद्देश्यका लागि प्रभावित पार्ने योजना बद्ध प्रयासलाई जनाइन्छ । डीआरले आफ्नो समाचार आठ वटा फरक स्रोतबाट प्राप्त सूचनामा आधारित रहेको बताएको छ । यी स्रोतले उक्त गतिविधिले ग्रिनल्यान्ड समाजभित्र डेनमार्कसँगको सम्बन्धलाई कमजोर पार्ने लक्ष्य राखेको विश्वास व्यक्त गरेका छन् ।
तर यी अमेरिकी आफ्नै इच्छाले कार्यरत थिए वा अरु कसैको आदेशमा भन्ने कुरा स्पष्ट नभएको डीआरले जनाएको छ । प्रसारणकर्ताले उनीहरूको नाम भने गोप्य राख्ने निर्णय गरेको छ । “हामीलाई थाहा छ, विदेशी शक्तिले ग्रिनल्यान्ड र यसको डेनमार्कसँगको सम्बन्धमा चासो देखाउँदै आएका छन्”, डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भन्नुभयो, “त्यसैले भविष्यमा हाम्रो राज्यलाई प्रभाव पार्ने बाह्य प्रयास हुन सक्ने सम्भावना अस्वाभाविक होइन ।”
उहाँले भन्नुभयो, “राज्यको आन्तरिक मामिलामा हुने कुनै पनि हस्तक्षेप पूर्णरूपमा अस्वीकार्य हुने छ । त्यसैले मैले विदेश मन्त्रालयलाई अमेरिकी चार्ज डी’एफेयर्सलाई छलफलका लागि मन्त्रालयमा बोलाउन निर्देशन दिएको छु ।” उहाँले डेनमार्क र ग्रिनल्यान्ड सरकारबीचको सहकार्य ‘घनिष्ठ र आपसी विश्वासमा आधारित’ रहेको पनि दोहोर्याउनुभयो ।
यसैबिच, डेनिस सुरक्षा तथा गुप्तचर सेवा (पिइटी) ले भनेको छ, “विशेष गरी वर्तमान अवस्थामा, ग्रिनल्यान्ड विभिन्न किसिमका प्रभाव अभियानको लक्ष्य बनेको छ, जसले डेनमार्क र ग्रिनल्यान्डबिचको सम्बन्धलाई कमजोर पार्ने प्रयत्न गर्न सक्छ ।”
पिइटीका अनुसार, यस्तो प्रभाव सञ्चालन विद्यमान वा बनावटी असहमतिको दुरुपयोगमार्फत गर्न सकिन्छ । दाहरणका लागि, चर्चित व्यक्तिगत विवादको प्रयोग गरेर वा ग्रिनल्यान्डमा डेनमार्क, अमेरिका वा अन्य देशसँग सम्बन्धित दृष्टिकोणलाई प्रवर्धन गर्ने माध्यमबाट । संस्थाले हालका वर्षमा ग्रिनल्यान्डमा आफ्ना गतिविधि र उपस्थिति स्थानीय अधिकारीसँगको सहकार्यमा निरन्तर बलियो बनाइएको र यो प्रक्रिया आगामी दिनमा पनि जारी रहने बताएको छ । रासस/एपी