• ३ भदौ २०८२, मङ्गलबार

दिदीबहिनी विशेष

सिर्जनात्मक तिज मनाऔँ

blog

केही पर मधुरो धुनमा तिजको गत बजिरहेको कार्यालयको मिटिङहलसम्म सुनिन्थ्यो । अफिसमा नयाँ सचिव आउनुभएको थियो । त्यसैले मिटिङ हलमा सम्पूर्ण स्टाफसहित कार्यालयको प्रगति समीक्षा बैठक चलिरहेको थियो । नयाँ हो वा पुरानो छुट्याउने कोसिसले ब्रिफिङभन्दा गीतले मेरो ध्यान तानिरहेको थियो र सँगै बसेको साथीसँग कानेखुसी गरेँ । 

“तिज आउन लागेको हो र ?” 

“असारको आधा भइसक्यो । भदौको दोस्रो हप्तामा तिज छ । आइ त सक्यो” उहाँले बिस्तारै भन्नुभयो । 

म नेवार, मलाई तिजले खासै नछुनु पर्ने हो तर तिज सुटुक्कै आउँदैन । पुलपुलिँदै मामाघर आएको नातिनातिना जस्तै बजारभरि हल्ला फिँजाउँदै लाडिएर आउँछ । त्यसैले म मात्र होइन तिजसँग पर भएर कोही रहन्छ जस्तो लाग्दैन । नेवारी संस्कार अनुसार विवाहपूर्व इही र गुफा राखिने हुनाले नेवार महिलाहरूले तिजको व्रत बस्नु पर्दैन भन्ने मान्यता छ तर यो कुनै जातजातिको हिसाबले नभई हिन्दु धर्म र नेपाली संस्कृतिसँग जोडिएकोले मलाई आफ्नै समुदायको चाँडपर्व जत्तिकै प्यारो लाग्छ तिज । 

पार्वतीले तपस्या गरेर भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्नुभएको कथा स्कुलमा साथीहरूले सुनाउँथे । उनीहरू पनि राम्रो लोग्ने पाउन व्रत बसेको भन्थे । हामी नेवारहरू तिजमा व्रत नबस्ने भएकाले हामीले राम्रो लोग्ने पाउँदैनौँ जस्तो लाग्थ्यो । छरछिमेक वा आफन्तमा कसैको लोग्नेले स्वास्नी कुट्यो वा रक्सी खाएर दुःख दियो भने पनि उनीहरूले व्रत नबसेर नै पो यस्तो लोग्ने परेको होला भनेर सोच्थेँ । केटाकटी बुद्धि त थियो । कसैले मेरो मस्तिष्कमा फुकिदिएको कि “राम्रो पति पाउन व्रत बस्नु पर्छ ।” अहिले सम्झिँदा आफैँलाई हाँसो लाग्छ । अहिले आएर मलाई पार्वती नारीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने महिला अभियन्ता जस्तो पो लागेको छ । जसले शिवलाई जीवनसाथी पाऊँ भनी व्रत बसी श्रीमान् स्वचयनको अधिकार प्रयोग गर्नुभयो । मलाई पञ्चमीमा व्रत बस्ने रहर त्यसै पलाएको चाहिँ होइन ।

लगभग तीन दशक अगाडिको कुरा हो, अहिले जस्तो प्रत्येक व्यक्तिको पहुँचमा निजी सवारी साधन थिएन । हाम्रो घर सानेपाको तीनदोबाटोमा पर्छ । तिजको दिन मात्र नभई अघिल्लो दिनदेखि नै रातो लुगा, रातै चुरापोतेले सजिएका महिलाहरू आवत जावत गरिरहन्थे । विवाहको सुरुको वर्ष मैले उत्सुकतासाथ हेरेको देखेर सासूले भनुभयो, “दर खान हिँडेको ।” अनि देखुन्जेल उहाँले पनि हेरिरहनुभयो । लाग्थ्यो त्यो दर खाने वा तिजमा सहभागी हुने इच्छा उहाँमा पनि तीव्र थियो । 

पञ्चमीको अघिल्लो दिन भाद्र शुक्ल चौथीका दिन हामी नेवारहरूले ‘चथाः’ पर्व मनाउँछौँ । त्यति धेरै प्रचार प्रसार नभए पनि यसलाई दसैँको आगमन वा ‘सानो दसैँ’ भन्ने गरिन्छ । यसको सन्दर्भ किन जोड्न खोजेको भन्ने लाग्न सक्छ । राति चन्द्रमा देखा परेपछि कौसीमा बसेर चथाःको पूजा गरिन्छ । परिवारका सबै सदस्यहरू भित्रिएपछि खानपिन सकाएर पूजा गरिरहँदा महिलाहरू समूह समूह बनाएर हल्ला गर्दै हिँडेको पहिलो पटक देखेकोले खुल्दुली लाग्यो, “यति राति यिनीहरू कहाँ गएका होलान् ।” पूजा सकेपछि चढाएको पञ्चपकवान, फलफूल प्रसादको रूपमा खाएर घरभित्र पस्ने र त्यसपछि बाहिर निस्कनु हुन्न भन्ने प्रचलन छ । सोही प्रचलन अनुसार पूजा सकेर हामी सबै घरभित्र पस्यौँ । महिलाहरू पञ्चमीको व्रत बस्न लस्कर लागेर हिँडेको म झ्यालबाट हेरिरहेँ । रातभरि नै जाने आउनेहरूको हल्ला खलल्लाले चोकमा घरका भएकाहरू राम्ररी सुत्न नपाउने थाहा पाएँ । 

घर सानेपा अनि ऋखेश्वर महादेवको मन्दिर कुलेश्वर, करिब २.५ किलोमिटरको दुरीमा छ । त्यहाँ पञ्चमीको दिन ठुलो मेला लाग्ने रहेछ । त्यही मन्दिर जान हिजो राति महिलाहरू हिँडेका रहेछन् । टाढाबाट आउनेहरू त्यहीँनजिकैको बागमतीमा नुहाएर पूजाआजा गरी फर्किने सासूले बताउनुभयो । अर्को महìवपूर्ण कुरा पनि भन्नुभयो, “यो मन्दिरमा वर्षको एक दिन अर्थात् तिजको पञ्चमीमा मात्र पूजा हुन्छ । अरू दिन कसैले नित्य पूजासमेत गर्दैन ।” 

एक दिन धुमधामले पुजेर गरेर अरू दिन फोहोर नै जमेर बस्ने पनि भगवान् भनेर पहिलो पटक सुनेको थिएँ । भगवान्हरूमा पनि भेदभाव हुन्छ भने मानिसमा किन नहुनु भन्ने लाग्यो । अरू दिन वास्ता नगर्ने सञ्चो विसञ्चो नसोध्ने तर ‌औँसीको एक दिन मिठो मसिनो खान दिएर भेट गर्न आउने छोराछोरीका आमाबुवा जस्तो पनि लाग्यो । यस्तो हेला गर्ने परम्परा कसले बसालेको होला भगवान्हरूले नै कि मानवहरूले । त्यसपछि मलाई पञ्चमीमा व्रत बसेर ऋखेश्वर महादेवको दर्शन गर्ने रहर लाग्यो । 

क्षेत्री बाहुनको बाहुल्यता रहेकाले मेरो टोल छिमेकका महिलाहरू प्रायः तिजमा व्रत बस्थे । जेठानी र हाम्रो घरमा भाडामा बस्ने ३÷४ जना महिला पञ्चमीमा मात्र व्रत बस्ने गर्थे । विवाहको केही वर्षपछि उनीहरूसँगै मिसिएँ । हामी राति नै नुहाइधुवाइ गरेर मन्दिर जान्थ्यौँ । राति १२ नबज्दै सबैको घरमा बत्ति बल्थ्यो । बत्ति बल्नु र नबल्नुको पनि सङ्केत थियो ।

“फलानाको कोठामा बत्ती बलेको छैन, यस पटक व्रत बसेन जस्तो छ ।”

“फलाना हिँडिसक्यो जस्तो छ कोठामा बत्ती निभिसक्यो ।” हामी यस्तै यस्तै अड्कल लगाउँथ्यौँ । अहिले जस्तो हात हातै फोन थिएन ‘निस्के है’ भनेर फोन गर्न । अघिल्लो दिन नै स्थान र समय निर्धारण गरेर १०÷१२ जना भएर जान्थ्यौँ । जति चाँडो गयो त्यति लाइन बस्ने समय कम हुने भएकाले मन्दिर नपुगुन्जेल हामी दौडिन्थ्यौँ । पाँच मिनेट ढिलो हुनु भनेको २०÷२५ जनाको पछाडि पर्नु हुन्थ्यो । एउटा समूहले अर्काे समूहलाई उछिन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । हामी सबै समूहलाई उछिन्थ्यौँ । ऋखेश्वर महादेव अर्थात शिवलिङ्गको उचाइ ५÷६ इञ्चको थियो । पूजा गरेपछि बिनाप्रसाद फर्किनु अर्को रमाइलो पक्ष लाग्थ्यो । त्यहाँबाट फूलप्रसाद ल्याउनु हँुदैन भन्ने कथन भएकाले पूजा सकेपछि रित्तै भइन्थ्यो । विभिन्न स्थानबाट बस रिजर्भ गरेर आउने भक्तजनहरूको ओइरो लाग्थ्यो । करिब तीन साढे तीन किलोमिटर लामो लाइन हुन्थ्यो । रातको १२ बजेदेखि भोलिपल्ट साँझ ७÷८ बजेसम्म १८÷२० घण्टासम्म दर्शनार्थीहरूको घुइँचो हुन्थ्यो । करिब ५०० भन्दा बढी पुरेत गौदान लिनका लागि बेलुका नै ठाउँ रिजर्भ गरेर बसेका हुन्थे । 

महिनावारी पाप होइन भन्ने मलाई राम्रै थाहा छ । त्यसैले आत्मसन्तुष्टि र आफूखुसी व्रत बसे पनि पञ्चमीको व्रतले महिनावारीमा गरको छोइछिटो पाप पखालिन्छ भन्ने विश्वास लाग्दैन । मलाई पूजापाठमा भन्दा महिलाहरू भेला भएर गाइने सामाजिक चेतना, नारी पीडा र मुक्तिका विद्रोही गीतहरू विशेष लाग्थ्यो । बाल्यकालमा तिजको दिन मङ्गलबजारको कृष्ण मन्दिर र बङ्गलामुखी मन्दिर परिसरमा ठुलो सङ्ख्यामा आमा दिदीहरू भेला भएर दिनभरि मादल बजाएर नाचगान गर्थे । कोही छमछमी नाचिरहेको हुन्थे । कोही गित गाउँदा गाउँदै रोइरहेको हुन्थे । घर नजिकै भएकोले प्रत्येक साल आमा हेर्न जानुहुन्थ्यो । म पनि पछि लाग्थेँ । नबुझे पनि सानैदेखि सुन्दै आएको गीतको मर्म विवाहपछि बुझेँ । जति बुझ्दै गएँ त्यति नै ती गीतका शब्दको मर्मले मलाई भित्रभित्रै अँठ्याउँथ्यो र कैयौँ दिनसम्म मस्तिष्कमा ज्वारभाटा उठ्थ्यो । अन्याय सहनु हुन्न भनेर लेखपढ गरे पनि एक शब्द मुखबाट निकाल्न नसक्ने मलाई एक दिन नै भए पनि धक फुकाएर मनको आवाज सुनाउनेहरू साहसी लाग्थ्यो । तिजको अवसरमा गाइने विद्रोही भावका गीतले मलाई अनौठोसँग तानेको अनुभव गर्थें । त्यसैले पूजा सकेपछि हामी कोही गीत सुन्न कोही नाच्न समूहमा सामेल हुन्थ्यौँ । 

विवाह अघि नेवार समुदायमा तिज र दरको चर्चा सुनेको थिइनँ, जति विवाह पछि सुनेँ । त्यसैले विशेष गरी दरमा के के हुन्छ भन्ने खुलदुली मेटाउन विवाहको पहिलो वर्ष सासुलाई सोधेँ । न विवाह अगाडि दर देखेको र खाएको थिएँ न विवाह पछि नै, न अहिले जस्तो होटेल पार्टी पालेसहरूमा दर खाने चलन थियो । आफन्तसँग बसेर दर खाने र त्यसमा मन मिलेकाहरू एक दुई जना सामेल हुन पाइन्थ्यो । अहिले जस्तो साथी सर्कलको सङ्ख्या पनि थिएन ।

“के नै हुन्छ र खिर, पुरी, तरकारी, फलफूल, मिठाई यस्तै त हो । हाम्रो जस्तो चौरासी व्यञ्जन हुँदैन ।” उहाँले दरलाई हलुकासँग व्याख्या गरेर आफ्नै भोजको महìव देखाइदिए पनि दरप्रतिको मेरो मोह घटेन । आफ्नो घरमा कमै पाक्ने खिर पुरी नै दरमा खाने सुनेर दर खाने तलतल झन बढ्यो । प्रत्येक वर्ष तिजको दरले यस्तो लोभ जगाएर जान्थ्यो कि परिवारमा एक दुई जनाले अन्तरजातीय विवाह गरेको भए ! यथार्थमा सासूले पनि त्यतिबेलासम्म दर खानुभएको रहेनछ । 

केही वर्षपछि टोलछिमेक र साथीभाइसँग पारिवारिक माहोलमा दर खाने मौका पनि मिल्यो । समयसँगै सामाजिक महिला बन्ने दौरानमा टोलछिमेकमा उठवस हुनुका साथै विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध भएँ । परिवारभित्र सीमित भएको दर रेस्टुरेन्ट पार्टी प्यालेसमा विस्तार भएपछि टिकटमा किनेर पनि खाएँ । नाइँ भन्न नसक्दा कहिले काहीँ २÷३ वटा पनि टिकट किनिदिनु पथ्र्या । रु ५०० देखि सुरु भएको टिकट अहिले १५०० देखि २००० सम्म पुगेको छ। ‘टिकट किनेर सहयोग गर्नु न’ भन्दै जबर्जस्तीको शैलीमा टिकट बिव्रmी गर्ने वा थमाइदिनेहरूदेखि तिजको एक महिना अगाडिबाट तनाब सुरु हुन्छ । दर खान भनेर आयोजना गरेको टिकट बिव्रmी गरेको पैसाले कसलाई कस्तो सहयोग पुग्छ म बुझ्दिनँ ।

कफीको बास्नाले पो मिटिङ हलमा छु भन्ने होस भयो । २÷३ दिन अगाडि त हो, साथीले असार मसान्तसम्ममा एउटा तिजसम्बन्धी लेखका लागि अनुरोध गर्नु भएको । अफिसमा पनि असार मसान्तको चटारो भएकाले भ्याउदिनँ होला भनेकी थिएँ तर दिमागले भने विगतको तिज यात्रा गरिवरी फर्किसकेछ ।

तिजसँगको मेरो सम्बन्ध धेरै लामो छैन तर तीन दशकदेखि हालसम्म आइपुग्दा तिज मनाउने परम्परामा ठुलो अन्तर देखेको छु । तिजमा सहभागिता बढेसँगै आडम्बर र भड्किलोपन थपिँदै छ । यस्तो प्रवृत्तिले सांस्कृतिक विचलनको भयावह दुर्दशा पो हुने हो कि भन्ने शङ्का पनि लाग्छ । पुरुष भगवान् वा मालिक र नारी भक्त वा दासको दर्जामा उभिएर अविवाहितले राम्रो पतिका कामना गरेर तथा विवाहितले पतिको दीर्घायुको कामना गरेर बस्ने व्रतको परिभाषामा परिमार्जन भएको छ । तिजलाई नयाँ परिवेश र परिभाषामा बुझ्न आवश्यक छ । मधुपर्क

Author

वीणा नेम्कुल