काठमाडौँ, भदौ १ गते । नेपाली महिलाको महान पर्व तीज भदौ १० गते शनिबार पर्छ । तीज आउन अझै केही दिन बाँकी भए पनि यसको रमाइलो भने सुरु भइसकेको छ ।
यो पर्व विशेषगरी शिव–पार्वतीको उपासना गर्ने दिनका रूपमा लिइन्छ। धार्मिक दृष्टिले यस दिन महिलाले व्रत बस्दै भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्छन्।
सांस्कृतिक रूपमा तीजले महिलाबिच एकता, आत्मीयता र खुसी बाँड्ने अवसर दिन्छ। महिला दर खाने, गीत गाउने, नाच्ने र विभिन्न परम्परागत पोशाकमा सजिने गर्छन्। यसले उनीहरूको संस्कृतिलाई जगेर्ना गर्ने मात्र नभई आपसी सम्बन्धलाई बलियो बनाउँछ।
सामाजिक दृष्टिले तीज महिलाको आवाज अभिव्यक्त गर्ने पर्व पनि हो। तीजका गीतमा महिलाले आफ्ना पीडा, अभाव, अधिकार र सामाजिक यथार्थलाई प्रकट गर्ने गर्छन्। यसरी तीज महिलाको आत्मबल, संस्कृतिको संरक्षण र सामाजिक चेतना फैलाउने माध्यमका रूपमा महत्त्वपूर्ण पर्वको रूपमा रहेको छ ।
तीजकै अवसरमा आइतबार गोरखापत्र संस्थानमा कार्यरत महिलाले नाचगान गरेर मनाए । गोरखापत्र संस्थानका सामान्य प्रशासन तथा सूचना प्रविधि विभागका प्रमुख रेखादेवी श्रेष्ठको अध्यक्षतामा तीज कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले तीज केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक, सामाजिक र भावनात्मक एकताको प्रतीक हो, जसले नेपाली महिलाको जीवनमा विशेष अर्थ बोकेको छ भन्नुभयो ।
तीजको सांस्कृतिक, धार्मिक, सामाजिक पक्ष कमजोर हुने र मनोरञ्जनमा मात्रै सीमित हुँदा विकृति आउनेतर्फ ध्यान दिन आग्रह गर्दै उहाँले तपाईंहरूको सुखीले संस्थानको कार्य सम्पादनमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले यस खुसीले सम्पूर्ण प्रकाशनमा ऊर्जा प्रदान गरोस, आपसी सद्भाव र एकता अभिवृद्धि होस् भनी शुभकामना दिनुभयो ।
यसैगरी, संस्थानका सञ्चालक समितिका सदस्यसमेत रहनुभएका गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक लोकबहादुर चौधरीले नेपाली संस्कृतिमाथि पश्चिमा संस्कृतिको अतिक्रमण बढिरहेको चर्चा गर्दै तीज पर्वले हाम्रो सामाजिक सद्भाव र एकता कायम गर्न सफल भएको बताउनु भयो । संस्थानको खरिद शाखाका प्रमुख मीना अधिकारीले नारीको सशक्तीकरण गर्न गर्ने पर्वको रूपमा तीजलाई मनाउने गरिएकाले यसको मर्म र महत्त्वलाई बचाइ राख्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘तीज पर्वलाई महिलालाई खुसी र स्वतन्त्रता दिने पर्वको रूपमा मनाउने गरिएको छ । यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व त झन उच्च छ ।’’
कार्यक्रममा महिलाले विभिन्न तीज गीतमा छमछम नाचेर रमाइलो गर्नुभएको थियो ।