• १६ असार २०८१, आइतबार

निर्वाचन खर्च बुझाउन ताकेता

blog

हुम्ला, असार १० गते । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र उम्मेदवारमध्ये निकै कमले निर्वाचन खर्च बुझाएकाले बाँकी रहेकाहरूलाई छिटो बुझाउन निर्वाचन आयोगले ताकेता गरेको छ । निर्वाचन कार्यालयले सो खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको लामो समय भए पनि कम उम्मेदवार र जनप्रतिनिधिले मात्र खर्च विवरण बुझाएको जनाउँदै तत्काल बुझाउन निर्देशन दिएको हो । 

कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका ६६६ जना उम्मेदवारमध्ये ५० जनाले मात्र निर्वाचन खर्च विवरण बुझाउनुभएको छ । ६१६ जना उम्मेदवारले सो विवरण नबुझाएको उहाँको भनाइ छ । कार्यालयले खर्च विवरण बुझाउन सचेत गराएको भए पनि नटेरेको उहाँले गुनासो गर्नुभयो । 

खर्च विवरण बुझाउने उम्मेदवारमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसहित केही पराजित भएका उम्मेदवार हुनुहुन्छ । सबै गाउँपालिका गरी अध्यक्षमा २१ जना र उपाध्यक्षमा २४ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो । उहाँहरूमध्ये बीस जनाभन्दा बढीले खर्च विवरण नबुझाएको बताइएको छ । कानुनतः मतगणना सम्पन्न भएको मितिले एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । 

गाउँपालिकाका अनुसार नाम्खामा ६४, सिमकोटमा १०१, खार्पुनाथमा ६५, सर्केगाडमा १४४, चङ्खेलीमा १३३, अदानचुलीमा ७१ र ताँजाकोटमा ८८ जनाले सो विवरण नबुझाएका बताइएको छ । अधिकांश उम्मेदवारले खर्च विवरण नबुुझाएपछि असार मसान्तभित्र बुझाउनका लागि पुनः एक पटक सूचना जारी गर्ने र यदि सो अवधिमा पनि नबुझाए आवश्यक कारबाहीका लागि निर्वाचन आयोगलाई सिफारिस गर्न निर्देशन आएको बताउनुभयो ।


Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।