• २ भदौ २०८२, सोमबार

'बिरामीको चाप अनुसार सुविधा विस्तार गरेका छौँ'

blog

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी

काठमाडौँ, साउन ३० गते । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सम्पूर्ण सेवा एकै ठाउँबाट दिने गरी सेवा विस्तार गर्ने नीति लिएको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सम्पूर्ण सेवा एकै ठाउँबाट दिनेगरी विशेषज्ञ सेवा विस्तार गर्ने नीति लिएको जानकारी दिनुभयो ।  

अस्पतालले प्रसूति सेवा र नवजात शिशुको मात्र नभई मुटु रोग, मानसिक समस्या, निःसन्तानको समस्या, क्यान्सर जस्ता विशेषज्ञ सेवा दिँदै आएको बताउनुभयो ।   

उहाँ भन्नुहुन्छ,“परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले प्रसूति र नवजात शिशु सेवा मात्र नभई विशेषज्ञ सेवा दिँदै आएको छ । हामीले सम्पूर्ण सेवा एकै ठाउँ दिने उदेश्य अनुसार सेवा विस्तार गर्ने नीति लिएका छौँ ।” अस्पतालले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै सेवा सुविधा विस्तार गर्दै लगेको डा. अधिकारीको भनाइ छ ।  

अस्पतालले अघिल्लो आर्थिक वर्षदेखि सेवाग्राहीको चापलाई मध्यनजर गर्दै अनलाइन टिकटिङको व्यवस्था गरेको छ । साथै थप एक बिलिङ काउन्टरको व्यवस्थापन तथा सर्वसुलभ औषधीका लागि दुई वटा थप काउन्टर विस्तार गरी सेवाग्राहीलाई सहज बनाएको डा. अधिकारीको दाबी छ ।   

उहाँका अनुसार अस्पतालले गत वर्ष जेठ महिनादेखि अस्पतालको कुपण्डोल स्थित नव निर्मित भवनमा सेवा विस्तार गरी सुरक्षित गर्भपतन, परिवार नियोजन, प्याथोलोजी, रेडियोलोजी, फार्मेसी, तालिम हल सञ्चालन एवं आंशिकरूपमा अब्स तथा गाइनेकोलोजी सेवा साथै तालिममा आउने स्वास्थ्यकर्मी र नर्सिङ विद्यार्थीका लागि छात्रावासको व्यवस्थापन गरेको छ । 

अस्पतालमा सेवा विस्तार हुँदा सेवाग्राहीलाई लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता अन्त भएको डा. अधिकारीको बुझाइ छ । 

अस्पतालले नवजात शिशुको अनुवांशिक तथा विकलाङ्गको पहिचानको तथा निदान गर्न  विगत एक वर्ष देखि नियोनेटल स्क्रिनिङ सेवा सञ्चालनमा ल्याएको छ । गर्भवती तथा सुत्करीको मानसिक स्वास्थ्य सम्बन्धी समस्या सम्बोधन गर्न अस्पतालले मानसिक स्वास्थ्य ओपिडी सञ्चालनमा ल्याइएको छ । 

अस्पतालमा जन्म भएका शिशुलाई उपचारको आवश्यकता परेमा सकेसम्म अन्यत्र रिफर गर्नु नपरोस भन्ने उदेश्यले अस्पतालले १० शय्या एनआइसियू बढाएर २० शय्याको बनाएको उहाँले बताउनुभयो । गर्भवतीलाई मेटर्नल इको तथा फेटल इको को सेवा लिन अन्यत्र जानु नपरोस भन्ने उदेश्यले उक्त सेवा अस्पतालमा नै सञ्चालन ल्याइएको छ ।

सेवाग्राहीलाई सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले विस्तारित अस्पताल सेवा दिउँसो ३ बजे देखि बेलुका ६ बजेसम्म उपलब्ध गराउँदै आएकोमा बिहानी सत्रमा समेत उपलब्ध गराउँदै आएको छ। 

अस्पतालको ६६ औँ वार्षिकोत्वसको अवसर पारेर अस्पतालको विषयमा केन्द्रित भएर अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्रीले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो संवाद :

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।