काठमाडौँ, साउन २७ गते । मनसुन सुरु भएसँग विभिन्न प्रकारका कीटजन्य रोगको सङ्क्रमण पुष्टि हुने गर्छ । कीटजन्य रोग मध्येको जापानिज इन्सेफलाइटिस(जेई) पनि एक हो ।
पछिल्लो समय जनस्वास्थ्यका समस्याको रुपमा रहेको जापानिज इन्सेफलाइटिस एसियाली देशमा तिव्रगतिमा फैलर्दै आएको छ । एसियाली देशमा प्रत्येक वर्ष एक लाख जेईबाट सङ्क्रमित पुष्टि भएका मध्ये १० देखि २० हजार सङ्क्रमितको मृत्यु हुने गर्छ । नेपालमा प्रत्येक वर्ष यो रोगबाट मानिस सङ्क्रमित हुने गर्छन् । नेपालमा पुस यता पाँच प्रदेशमा फैलिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेसनल सर्भिलेन्स टिम लिडर डा. बलविन्द सिंह चावलाले नेपालमा पुसदेखि साउनसम्म तीन जना जापानिज इन्सेफलाइटिस सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका नेसनल सर्भिलेन्स टिम लिडर डा. बलविन्द सिंह चावला ।
उहाँका अनुसार हालसम्म ३४ जना यो रोगबाट सङ्क्रमित भएका छन् । मृत्यु भएका मध्ये जेई विरुद्धको खोप नलगाएका, ज्येष्ठ नागरिक तथा दीर्घरोगी रहेका छन् ।
तथ्याङ्क अनुसार सन् २०२४ मा ३० जिल्लाबाट ८६ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएका मध्ये २५ जनाको मृत्यु भएको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, सन् २०२३ मा १०७ जनामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।
सन् २०२२ मा ७९, सन् २०२१ मा २८ जना र सन् २०२० मा २४ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको थियो ।
जापानिज इन्सेफलाइटिसका बिरामी मनसुन (साउनदेखि कार्तिकसम्म) बढ्ने गर्छनन् । यो रोगको मृत्युुदर उच्च छ । सङ्क्रमित मध्ये १५ देखि ३० जनाको मृत्यु हुने गर्छ ।
जापानिज इन्सेफलाइटिस कस्तो रोग हो ?
विश्व स्वास्थ्य सङ्गठनकी नेसनल सर्भिलेन्स अधिकृत डा.सोनिया भगत अनुसार जापानिज इन्सेफलाइटिस भाइरस वा ब्याक्टेरीयाले लाग्ने मस्तिष्क सङ्क्रमण(मस्तिष्क ज्वरो) हो।
यो रोगले स्नायुमा असर पुर्याइ जीवनभर अङ्गभङ बनाउनुका साथै बिरामीको मृत्यु हुने डा.भगत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यदि यो रोग गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षघात हुने, बेहोस हुने र कोमामा जाने जस्ता लक्षण देखिने गर्छन् । यो रोग लागेका मध्ये १५ देखि ३० प्रतिशत सङ्क्रमितको मृत्यु हुन्छ ।”
जापानिज इन्सेफलाइटिस रोगबारे जानकारी दिर्दै विश्व स्वास्थ्य संगठन नेपालकी नेशनल सर्भिलेन्स अधिकृत डा.सोनिया भगत ।
यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्छ । धानबाली, दलदल र पानी जम्ने स्थानमा लामखुट्टेको प्रजनन स्थल बन्ने हुनाले ग्रामीण तथा कृषि क्षेत्रमा बसोवास गर्ने मानिस जेइ सङ्क्रमणको जोखिम बढी हुने डा.भगत बताउनुहुन्छ ।
यो रोग कसरी सर्छ ?
यो रोग एक मानिसबाट अर्को मानिसमा सर्दैन । लाखखुट्टेले सङ्क्रमित सुँगुर, बङ्गुर वा चरालाई टोकेर मानिसलाई टोक्दा यो रोग सर्ने डा. भगत बताउनुहुन्छ । यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यो प्रजातिको लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्छन् ।
लक्षण
एक्कासी ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नु वा बान्ता हुनु, कमजोरी महसुस हुनु यो रोगका लक्षण हुन् । उच्च ज्वरो (१०२ डिग्री फरेनहाइट भन्दा बढी ), टाउको बेसरी दुख्नु, शरीरमा कम्पन हुनु, अर्धचेत वा बेहोस हुनु, शारीरिक कमजोरी वा पक्षघात हुनु, कोमामा पुग्नु यो रोगका गम्भीर लक्षण हुन् । गम्भीर अवस्थामा मस्तिष्कमा स्थायी क्षति, पक्षघात वा मृत्यु हुन सक्छ ।
कस्ता मानिस बढी जोखिममा हुन्छन्
डा. भगतका अनुसार १५ वर्षमुनिका बालबालिका, धानबाली, सँगुर तथा हाँस फार्म नजिक बसोवास गर्ने मानिस प्रकोप प्रभावित क्षेत्रमा यात्रा गर्ने वा बसाइँ सर्ने मानिस यो रोगको जोखिममा हुने गर्छन् ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोश हुने वा शरीरमा कम्पन हुने, हिँड्न वा बोल्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा लैजाने उहाँका सुझाव छ । चाँडो उपचार गराएमा यो रोगबाट हुने जटिलता घटाउन सकिन्छ ।
लामखुट्टेको टोकाइबाट बच्ने उपाय
झुल प्रयोग गरेर सुत्ने, घर बाहिर जाँदा लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे धपाउने मलम लगाउने, घरभित्र लामखुट्टे धपाउने धूप वा स्प्रे प्रयोग गर्ने, घर तथा घर वरिपरि पानी जम्न नदिने, घर नजिकको झाडी तथा फोहोर हटाउने । पानी भण्डारण गर्ने भाँडा छोपेर राख्न उहाँको आग्रह छ ।
रोग लाग्नबाट बच्ने उपाय
यो रोगको निश्चित उपचार नभए पनि यो विरुद्धको खोप लगाएर रोग लाग्नबाट बच्न सकिने चिकित्सकको भनाइ छ। यो नियन्त्रण गर्न सरकारले जापनिज इन्सेफलाइटिस विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेर १२ महिनाका बालबालिकालाई निःशुल्क वितरण गर्दै आएको छ ।
खोप लगाउन छुटेका पाँचवर्ष मुनिका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्छन् । यो रोग नेपालमा पहिलो पटक सन् १९७८ देखि रूपन्देही जिल्लाबाट सुरु भएको थियो ।