सिराज खान
नेपालगन्ज, साउन २६ गते । बाँके जिल्लामा हालसम्म ९७ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
तीन दिन लगातार वर्षा भएको र सिक्टा सिँचाइ आयोजना लगायतका नहरको सिँचाइले गर्दा यस पटक जिल्लामा अनुमान गरिएभन्दा बढी हालसम्म ९७.१० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले बताउनुभयो ।
उहाँले अब जिल्लामा रोपाइँ करिब करिब सम्पन्न हुन लागेको जनाउँदै नरैनापुर १, ४ र ६ को अग्लो स्थानमा करिब २४० हेक्टरमा रोपाइँ हुन बाँकी रहेको र जानकी गाउँपालिकाको १ र ३ मा करिब १७ हेक्टरमा मात्र रोपाइँ हुन बाँकी रहेको बताउनुभयो ।
नरैनापुरको उत्तरी बेल्ट अग्लो भएकाले त्यहाँ मकैलगायतको खेती हुने हुँदा रोपाइँ हुन समस्या देखिएकाे कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत बस्नेतले बताउनुभयो ।
यस पटक असार र साउनको तेस्रो सातासम्ममा पनि जिल्लामा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका व्यवस्थाका कारण रोपाइँ निरन्तर भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
सिक्टाको नहर नपुगेको नरैनापुर र जानकी गाउँपालिकामा अन्य पालिकाको तुलनामा रोपाइँ ढिला भए पनि अन्य पालिकामा सिँचाइको व्यवस्थाका कारण छिटो भएको सो कार्यालयले जनाएको छ ।
बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेकोमा सिक्टा सिँचाइबाट २२ हजार हेक्टर र अन्य विभिन्न बोरिङ र सिँचाइबाट गरेर करिब सात हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले रोपाइँ समयमै सम्पन्न भएको हो ।