• २६ साउन २०८२, सोमबार

नागरिकको स्वास्थ्यप्रति संवेदनशील रेसुङ्गा

blog

गुल्मीको रेसुङ्गा नगरपलिका

रमेश विश्वकर्मा 
गुल्मी, साउन २६ गते ।
गुल्मीको रेसुङ्गा नगरपलिका नागरिकको स्वास्थ्यप्रति निकै संवेदनशील बन्दै गएको छ । यहाँका सबै नागरिकहरुको स्वास्थ्यप्रति रेसुङ्गा नगपालिका संवेदनशील बनेको पाइएको हो । रेसुङ्गा नगरपालिकाले सधैँ नागरिकको पक्षमा काम गर्दै आएको छ । नगरपालिका विशेषगरी नागरिकको स्वास्थ्यप्रति निकै संवेदनशील बनेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँ निर्वाचित भएर नगरप्रमुखको जिम्मेवारी सम्हाल्नु भएसँगै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन निकै प्रयत्न गर्नुभयो ।

उहाँले ‘गुल्मी अस्पताल, मेरो अस्पताल’ भन्ने नीति नै बनाएर अस्पतालको गुणस्तरमा वृद्धिसँगै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन लागेको बताउनुभयो । निर्वाचित भएर पदभार ग्रहण गर्नुभएसँगै नगरप्रमुख पन्थीले नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा मिर्गौला रोग पीडितहरुका लागि जिल्लामै पहिलो पटक मिर्गौला डायलाइसिस सेवा प्रारम्भ गर्ने निर्णय गर्नुभएको थियो । सो निर्णयको कार्यान्वयन भएसँगै हालसम्म ५२ जनाले यो सेवा लिइसक्नुभएको छ । दुई जना महिला र १६ जना पुरुष गरी १८ जना बिरामीले नियमित सेवा लिनुभएको छ ।

यससँगै बुटवल, काठमाडौँजस्ता शहरहरुमा डायलाइसिस गराई राख्नुभएका बिरामीहरु अहिले आफ्नो घरमा फर्किएर गुल्मी अस्पतालबाट नै सेवा लिई राख्नुभएको छ । जसका कारण जिल्ला बाहिर गई सेवा लिनुपर्ने सास्तीको अन्त्यसँगै बिरामीहरुको करोडौँ रकम समेत बचत भएको उहाँले बताउनुभयो । अहिले एक करोड रुपियाँ बराबरका तीन वटा हेमोडाइलाइसिस मेसिन, एनेस्थेसिया, रो प्लान्ट लगायतका सामग्रीहरु हस्तान्तरण गुल्मी अस्पताललाई गरिएको छ । जसबाट ४० जना बिरामीहरले नियमित सेवा लिन सक्नुहुनेछ ।

यस नगरपालिकाले विगतका वर्षहरुमा जिल्ला आँखा उपचार केन्द्रमार्फत मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराएको थियो । नगरपालिकाको सहयोगमा गत वर्ष ५० जना आँखाका बिरमाीले यो सेवा लिनुभएको थियो । गुल्मी अस्पताललाई नगरपालिकाबाट विशेषज्ञसहितको हाडजोर्नी उपचारका लागि प्रविधिमैत्री आधुनिक मेसिन उपलब्ध गराएसँगै हाडजोर्नी उपचारमा विश्वसनीयता बढ्दै गएको छ । यस प्रकारको सेवाबाट नागरिकहरुको ठूलो राशीमा रकम बचत हुनुका साथै बाहिरी जिल्लामा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सफल भएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

गुल्मी अस्पतालबाट रेसुङ्गा नगरपालिकामा प्राप्त भएको तथ्याङ्क अनुसार स्थापनाकालदेखि हालसम्म एक हजार एक सय जनाको हाडजोर्नीका बिरामीहरुको शल्यक्रिया गरिएको छ । ४१ हजार १११ जनाले ओपिडी सेवा लिनुभएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरुका लागि अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था गरिएको छ । हालसम्म १४९ जनाले घरमै निःशुल्क अक्सिजन कन्सन्ट्रेटर सेवा प्राप्त गर्नुभएको छ । उहाँहरुमध्ये ९८ जना बिरामीहरुले यो सेवा निरन्तर लिनुभएको छ । यसले बिरामीको अस्पताल बसाइँ कम हुनुका साथै अक्सिजन सिलिन्डरमा लगानी गर्न नपर्ने हुँदा नागरिकको आर्थिक व्ययभार कम गरी स्थानीय सरकारको प्रत्याभूति दिलाउन सफल भएको उहाँले बताउनुभयो ।

वडा नम्बर–५ को अर्खले स्वास्थ्य चौकी, वडा नम्बर–६ को चेक्मी आधारभूत स्वास्थ्य केन्द्र र ७ को अड्बिसे आधारभूत स्वास्थ्य केन्द्रको थप भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति गरी सेवा प्रवाहमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको आयोजना तथा यस नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा अध्ययनरत १५ वर्ष मुनिका चार हजार १८४ जना छात्र र तीन हजा ५२६ जना छात्रा गरी कूल सात हजार ७१० जना विद्यार्थीहरुको मुटु परीक्षण गरिएको हो । यस नगरपालिकालाई किशोर–किशोरीमैत्री स्वास्थ्य संस्थायुक्त पालिका गरिएको छ । जसबाट किशोर–किशोरिहरुले निःशुल्क स्वास्थ्य सेवा र परामर्श प्राप्त गर्नुभएको छ ।

नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाबाट गर्भवती आमाहरुलाई मासिक रुपमा ग्रामीण अल्ट्रासाउण्ड सेवा दिइएको छ । उक्त सेवाबाट हालसम्म १३४ जना गर्भवती आमाहरुले सेवा लिनुभएको छ । यसबाट समयमै नजिकको स्वास्थ्य संस्थाबाट गर्भावस्थाको जटिलता पत्ता लगाई गर्भावस्थामा हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुगेको हो ।

रेसुङ्गा नगरपालिकाको निरन्तरको प्रयासबाट गुल्मी अस्पतालमा बालरोग विशेषज्ञ सेवा थपिएको छ । बालरोग विशेषज्ञबाट हालसम्म एक हजा ५५ जनाले सेवा लिनुभएको पाइएको छ । गुल्मी अस्पतालमा गतवर्ष ७१४ जना महिलाले अस्पतालमा सत्केरी सेवा लिनुभएको छ । अघिल्लो वर्षको संख्यामा करिब ७५ प्रतिशतले वृद्धि भएको पाइएको नगरपालिकाले जनाएको छ ।