नौरते नेपाली
सिँजा (जुम्ला), साउन २६ गते । कृषि उत्पादन घट्दो क्रममा रहँदा जुम्लाबाट कृषि उपज जिल्लाबाहिर निर्यात हुने क्रममा सुधार भएको छ ।
जुम्लाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ६९ करोड रुपियाँभन्दा बढीको २३ हजार टन कृषि उपज निर्यात भएको छ । निर्यात हुनेमा सबैभन्दा बढी स्याउ छ । स्याउपछि मार्सी चामल, ओखर, सिमी, कोदोलगायतका रैथाने कृषि उपज रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार यसले किसानलाई उत्पादनमा लाग्न प्रेरित गरेको छ भने स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ । बजार पहुँच, सञ्चार सुविधा र सडक सञ्जाल विस्तारसँगै कृषि उपजको व्यापार सहज हुँदै गएको छ । यद्यपि भण्डारण सुविधा, प्रशोधन केन्द्र र मूल्य स्थायित्व अझै चुनौती छन् ।
कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार गत आवमा जुम्लाबाट ६६ करोड ६१ लाखको स्याउ निर्यात भएको थियो । कुल उत्पादन २१ हजार टन भए पनि नौ हजार ३३१ टन स्याउ निर्यात भएको थियो ।
त्यसै गरी दुई हजार ५९० किलो ओखर, ५५ हजार ८०९ किलो सिमी, दुई हजार ९१३ किलो भटमास, ९० हजार ६६० किलो आलु निर्यात भएको छ । ११ हजार ५५५ किलो मार्सी चामल, ९५० किलो चिनो चामल, ७९० किलो कागुनो चामल, छ हजार १५० किलो फापरको पिठो, १६ हजार चार सय किलो कोदोको पिठो र १० हजार ४५० किलो जौको पिठो जुम्लाबाट निर्यात भएको छ । जुम्लामा दुई हजार ७४० हेक्टरमा कोदो खेती भइरहेको छ । गत आवमा तीन हजार ८५० टन कोदो उत्पादन भएको थियो । नेपालभर प्रतिहेक्टर कोदोको उत्पादकत्व १.३४ प्रतिशत रहेकामा जुम्लामा १.४१ प्रतिशत छ । पछिल्ला वर्षमा अन्य बालीभन्दा धान उत्पादनमा गिरावट आएको छ । २०७९ सालको भीषण बाढीपछि जुम्लाको १८ हेक्टर मार्सी फाँटमा क्षति गरेपछि धान उत्पादन घट्दै गएको हो ।
फापर, कोदो, मकै, उवा, चिनो, कागुनोलगायतका रैथाने बालीको उत्पादन पनि घटेको छ ।
कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जुम्लामा आव २०८१/८२ मा २४ हजार २३१ टन रैथाने बाली उत्पादन भएको छ । अघिल्लो आव २०८०÷८१ को तुलनामा यस वर्ष खाद्यान्न बाली आठ हजार टन कम उत्पादन भएको छ । २०८०/८१ मा ३२ हजार ८४५ टन खाद्यान्न बाली उत्पादन भएको थियो । त्यस्तै आव २०७९/८० मा भने ३० हजार ८२८ टन खाद्यान्न बाली उत्पादन भएको थियो ।
जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनसँग जोडिएको स्याउ उत्पादन भने बढ्दै गएको छ । आव २०७८/७९ मा १६ हजार टन स्याउ उत्पादन भएको जुम्लामा आव २०७९/८० मा १८ हजार टन, आव २०८०/८१ मा १९ हजार ८४० टन उत्पादन भएको थियो । चार वर्षयताकै सबैभन्दा बढी आव २०८१/८२ मा २१ हजार २७० टन स्याउ फलेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार स्याउ निर्यातबाट जुम्लामा गत आर्थिक वर्र्ष ६१ करोड रुपियाँ भित्रिएको छ ।