बर्दिया समाचारदाता
बबई (बर्दिया), साउन २६ गते । धानको बाली हरियो हुने समयसम्म पनि युरिया मल नपाएका कृषक कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ वा सहकारी होइन जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन् । गुलरिया–७ का कृषकले सहकारीबाट समेत मल नपाएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरूका अनुसार, नगरक्षेत्रका कृषकलाई माग अनुसार मल आपूर्ति नहुँदा धान उत्पादन घट्ने जोखिम बढेको छ ।
मलको खोजीमा कृषक दिनभर सहकारी संस्था धाउँदा हैरान भएर जिल्ला प्रशासनतिर लागेका हुन् । केही कृषक भने जोखिम मोलेर महँगो मूल्यमा भारतबाट मल किनेर ल्याउन लागेका छन् । वडा नं. ७ का कृषकलाई मल वितरणको जिम्मेवारी पाएको रातो तारा बहुउद्देश्यीय सहकारी संस्थाले पर्याप्त मल नपाउँदा वितरणमा समस्या देखिएको जनाएको छ ।
सहकारीका अनुसार माग गरेको मल साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनीबाट नै उपलब्ध नभएकाले समस्या उत्पन्न भएको हो । धर्नामा सहभागी कृषक प्रवेश यादवले भन्नुभयो, “माग अनुसार मल नपाएपछि अन्ततः हामी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन बाध्य भयौँ ।”
रातो तारा बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मेघराज सिग्देलका अनुसार कृषकलाई वितरण गर्न १५० बोरा युरिया मल आवश्यक भए पनि जम्मा ५२ बोरा मात्र आएको छ, जसले सहज आपूर्ति असम्भव छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका प्रमुख सागर ढकालका अनुसार, बर्दिया जिल्लामा मात्र असारभित्र १० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । गत वर्षको तथ्याङ्क हेर्दा, वर्षभरिमा छ हजार ३४४ मेट्रिक टन मात्र युरिया बर्दियामा भित्रिएको पाइन्छ । उहाँले प्रत्येक वर्ष मागका आधारमा मलको आपूर्ति हुन नसकेको स्वीकार गर्नुभयो ।