• २६ साउन २०८२, सोमबार

पर्वतको विकास सम्भावना प्रचुर

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन २६ गते ।  पूर्व–पश्चिम मध्यपहाडी पुष्पलाल राजमार्ग तथा उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरले आन्तरिक एवं बाह्य बजारसम्म पहुँच सहज बनेको पर्वत जिल्लाको विकास र समृद्धिका लागि पर्वते बुद्धिजीवीले साझा चिन्तन अगाडि बढाएका छन् । 

पर्वत विकास समाज, काठमाडौँले आइतबार यहाँ पर्वतको विकास सम्भावना र अवसरको पहिचान विषयक विमर्श कार्यक्रममा विज्ञहरूले युवा जनशक्ति पलायन, रित्तिँदै गएको बस्ती र घट्दो जनसङ्ख्या जस्ता समस्या मुलुककै साझा भए पनि पर्वतका स्रोत सदुपयोगमार्फत विकासको सम्भावना राम्रो रहेको र यसकै आधारमा विकास गरिने मोडल मुलुककै लागि प्रेरक बन्न सक्ने औँल्याउनुभयो । 

पूर्वाधारविद् डा. चन्द्रबहादुर श्रेष्ठले कार्यपत्रमार्फत पर्वतका विकास सम्भावनाका आधार प्रस्तुत गर्नुभएको विमर्शमा राजनीतिक दलका नेताले पनि विगतमा जस्तो विकास कार्यमा तानातान गर्ने अवस्था अब नरहेको उल्लेख गर्दै समृद्धिको आधार उत्पादनमा ध्यान दिनुपर्ने बौद्धिक रायलाई आफूहरूको साथ रहने बताउनुभयो । प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले के भएन भन्दा पनि अब गरिनुपर्ने के हो भन्ने ठोस अवधारणा विकास गरिनुपर्ने बताउनुभयो । 

अवधारणापत्रमा डा. श्रेष्ठले जिल्लाका सात वटै पालिकाका सबै वडामा सडक सञ्जाल पुगेको तथा पूर्व–पश्चिम, उत्तर–दक्षिण राजमार्गले नजिकको बजारमा पहुँच पु¥याएको पर्वतमा पर्यटन, वन पैदावर र ऊर्जाको सदुपयोगका अवसर रहेको उल्लेख गर्नुभयो । उहाँले कृषियोग्य भूमिको चक्लाबन्दी, भूमि बैङ्कको अवधारणामा सहकारी कृषि प्रणाली, कालीगण्डकीको अव्यवस्थित दोहन रोकी सुरक्षित ढुङ्गाजन्य खानी उद्योग सञ्चालन जस्ता सम्भाव्य क्षेत्र अवसरका रूपमा रहेको र यसमा आन्तरिक तथा बाह्य निजी क्षेत्रको लगानीका निम्ति सहज वातावरण निर्माण गरिनुपर्ने बताउनुभयो । 

नेपाल सरकारका पूर्वमुख्यसचिव शङ्करदास वैरागीले विकासका संरचना बनाउनेभन्दा पनि जलवायु परिवर्तनका असरलाई दृष्टिगत गर्दै दिगो विकास संरचनामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जेनजी पुस्ताको आवश्यकता र रुचिसमेतलाई सम्बोधन गर्ने अवधारणाका विकास पूर्वाधार खडा गरी युवा जनशक्तिलाई आफ्नै ठाउँमा रोजगार र सम्मानको वातावरण बनाइनुपर्ने औँल्याउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले पर्यटन, कृषि, ऊर्जा र सूचना प्रविधि क्षेत्रमा पर्वतमा प्रचुर सम्भावना रहेको तथा आन्तरिक पुँजी परिचालन गरेरै ठुला काम गर्न सकिने बताउनुभयो । 

विमर्शमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री पदम गिरी, संविधान सभा सदस्य विकास लम्साल, पूर्वसांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य नीलकण्ठ तिवारी, नेकपा एसका पोलिटब्युरो सदस्य विजय गुरुङलगायतले पर्वतको समृद्धिका लागि विज्ञहरूले दिने साझा सुझावमा राजनीतिक तहबाट सहकार्य हुने विचार व्यक्त गर्नुभयो ।