अविनाश चौधरी
धनगढी, साउन २५ गते। कैलालीको धनगढीस्थित जिल्ला कारागारमा कैदीबिच हिंसात्मक झडपपछि कैद भुक्तान गरिरहेका आफ्ना मान्छे भेट्न आउने आफन्तको कारागारमा भीड लागेको छ।
आजबाट कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेटघाट र कुरा गर्न दिएपछि आफ्ना मान्छेको अवस्था बुझ्न आउने आफन्तको भीड लागेको हो। आफन्तले शनिबार पनि भेटघाट गरेका थिए।
घटनापछि आफ्ना व्यक्ति भेट्न आउने आफन्तको आज कारागारमा लाइन नै लागेको थियो। कारागारभित्र कैदीबिच हिंसात्मक झडप भएको थाहा पाएपछि छोराको अवस्था बुझ्न डोटीबाट आएको जोरायल गाउँपालिका–१ घन्टेश्वरका कमलबहादुर विकले बताउनुभयो।
“युट्युबमा हेरेर घटनाको बारेमा थाहा पाएपछि अवस्था बुझ्न धनगढी आएँ”, उहाँले भन्नुभयो,“छोराको अवस्था के छ, कस्तो छ, केही थाहा छैन।”
शुक्रबार मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गरेका थिए। सो घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो। ४७ जना कैदी घाइते छन्।
कारागारबाट कैदी सरुवापछि कैदीबिच मनमुटाव बढेको उनीहरुका आफन्तहरुको जिकिर छ। कैलालीको गोदावरी नगरपालिकास्थित गेटाका सिद्धराज भट्टले कैदीका नाइके अशोक रावलको सरुवापछि भित्र अशान्ति मच्चिएको जिकिर गर्नुभयो। “अशोक बाबु नाइके हुँदा भित्र सबैकुरा ठीकठाक चल्दै थियो। उनले सबैलाई मिलाएर राखेका थिए”, उहाँले भन्नुभयो,“अशोकको दाङ सरुवा भएपछि यहाँ अशान्ति भइरहेको छ।”