प्रनिश गिरी
कुश्मा (पर्वत), साउन २५ गते । पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रमा उच्च जोखिमयुक्त रसायनको कालो पोखरी बनाइएको छ । जिल्लाको कुश्मानगरपालिका– ५ जलकेनीमा सञ्चालनमा रहेको छिपु बायोटेक्नोलोजी कम्पनीले चुत्रो र गुजरगानो प्रशोधनमा प्रयोग गरी फालिएको सल्फाइड युक्त अम्लले पोखरी बनेको हो ।
चाइनिज हर्बल उद्योगले गैरकाष्ठजन्य पदार्थमा पर्ने चुत्रोको जरा, हाँगा र डाँठ साथै गुज्रोगानोलाई प्रशोधन गरी आयुर्वेदिक औषधीको कच्चा पदार्थ उत्पादन गरी विदेश निर्यात गर्ने गरेको छ । करीव आठ करोड लगानीमा सञ्चालनमा ल्याइएको उद्योगले वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गरिनुपर्ने भए पनि अहिलेसम्म गरेको छैन । छिपु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियामा रहेको बताउनुहुन्छ ।
कुश्मा नगरपालिका कार्यालय राजस्व शाखाकी कर्मचारी बिन्दु शर्माका अनुसार नगरपालिकामा कम्पनी दर्ताका बेला छिपु कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बुझाएको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नबुझाएकै कारण कम्पनी दर्ता गरिदा पुँजी वृद्धि नगरिएको नगरपालिकाकी कर्मचारी शर्माको भनाइ छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नै तयार नपारी गत आर्थिक वर्षको पुस महिनादेखि सञ्चालनमा ल्याइएको कम्पनीले दैनिक २० टन जडीबुटी प्रशोधन गर्ने क्षमता राख्दछ । कम्पनीका सूचना अधिकारी श्रेष्ठका अनुसार उद्योगसम्म ल्याइएको जरा, हाँगा र डाँठलाई नुन, पानी र सल्फाइड युक्त अम्लमा कच्चा पदार्थमा केही दिन मिश्रण गरी भिजाउने, निकाल्ने र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ ।
हर्बल प्रशोधनमा प्रयोग गरिने सल्फाइड एसिड नामक पदार्थ वातावरणका लागि निकै खतरनाक हुने बताइन्छ । जानकारका अनुसार यो एसिडले पानी, माटो र हावाको गुणस्तरमा दीर्घकालीन क्षति पुराउने, वनस्पति र जीवजन्तुमा असर पुर्याउने साथै प्रदूषण फैलिदा ठूलो क्षेत्र प्रभावित हुने गर्दछ । छिपु कम्पनीका सूूचना अधिकारी श्रेष्ठले रसायन मात्रै नभई वर्षातको पानीका कारण पोखरी बनेको दाबी गर्नुभयो ।
कालीगण्डकी नदी किनारमा बनेको रसायनयुक्त पोखरीका कारण पानीको पिएच निकै घटाउने हुँदा जलीय जीव जस्तो माछा मर्न सक्छन् भने नदी समेत प्रदुषणको खतरामा छ । यो एसिडले मानव स्वास्थ्यमा समेत गम्भीर क्षति जस्तो छालामा जलन, आँखामा गम्भीर क्षति, सास फेर्दा घाँटी र फोक्सोमा क्षति पुर्याउन सक्छ ।
डिभिजन वन कार्यालय पर्वतका अधिकृत राजेश पोख्रेलका अनुसार वन पैदावर निकासी पुर्जी लिने बेला दिइएको जानकारी अनुसार छिपु कम्पनीले प्रारम्भदेखि अहिलेसम्म ४० हजार केजी प्रशोधित हर्बल धूलो उत्पादन गरिसकेको जनाएको छ ।