रामकृष्ण बोहरा
बागलुङ, साउन २५ गते । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । करिडोरअन्तर्गत बागलुङ नगरपालिका– १३ को कालाखोलामा शनिबार दिउँसो सुख्खा पहिरो खसेको हो ।
चट्टानसहितको पहिरोले सडक अवरुद्ध भएको छ । सदरमुकाम बागलुङ बजारबाट दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक यसअघि नै पहिरोका कारण अवरुद्ध छ । करिडोरसमेत पहिरोले अवरुद्ध भएपछि जिल्लाको दक्षिण क्षेत्रको सडक सम्पर्क टुटेको हो ।
करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम चल्ने सवारी सधान ठप्प भएका छन् । भैरहवाबाट सामान बोकेर आएका मालबहाक ट्रकहरु कालाखोलामा रोकिएका छन् । पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम विकले बताउनुभयो ।
विकका अनुसार, करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल खण्ड कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउन थालेपनि पहिरो खस्न नरोकिएकाले समय लागेको हो । पहिरोको दुवैतर्फबाट स्काभेटर प्रयोग गरेर चट्टान फोड्दा पनि पहिरो पन्छाउन दुई दिन लाग्ने निर्माण कम्पनीले अनुमान गरेको छ ।