यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) साउन २५ गते । राजापुर नगरपालिका–२, बालाबजारकी नविना थारू २०५८ सालमा श्रीमान् नेपालगन्ज पढ्दै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता भएपछि नविना एक्लो हुनुभयो । पछि पारिवारिक रूपमा पनि एक्लिएकी नविनाले सिलाइ कटाइ तालिम लिएर व्यवसाय सुरु गर्नुभयो । पहिले श्रीमानको यादमा तड्पिने उहाँ आफ्नो व्यवसायमा व्यस्त भएपछि आफ्नो पीडा कम भएको महसुस गर्नुभएको छ ।
श्रीमान् बेपत्ता हुँदा पेटमा भएकी राजापुर नगरपालिका–६ की शिवा थारूकी कान्छी छोरीको समेत विवाह भएपछि उहाँ घरमा एक्लै हुनुभयो । चार जना छोरीकी आमा शिवा घरमा एक्लै हुँदा टोलाएर बस्नुहुन्थ्यो । राजापुर नगरपालिकाले भैँसी पालन व्यवसायका लागि एक लाख सहयोग गरेपछि शिवाका लागि साथी र व्यवसाय दुवै भएको छ ।
घरखर्च चलाउन नसकेर आपतमा परेकी राजापुर नगरपालिका–५, जयपुरकी शहीदपत्नी राजकुमारी थारूले अहिले खसी बाख्रा बेचेर घरखर्च चलाउन थाल्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘पहिले खाली बस्थे अहिले काम पनि गर्छु पैसा पनि आउँछ ।’’
राजापुर नगरपालिकाका बेपत्ता र शहीदका एक सय नौ जना परिवारहरू सबै व्यवसायमा व्यस्त हुनुहुन्छ । द्वन्द्वपीडित समिति राजापुरकी अध्यक्ष लौटनकुमारी थारूले भन्नुभयो –‘‘मैले पनि सिलाइकटाइ व्यवसाय गर्छु राजापुर नगरपालिकाले सिलाई सामान सहयोग गरेपछि अरुलाई समेत रोजगारी दिएकी छु ।’’
राजापुरका शहीद र बेपत्ताका परिवारहरू अहिले आ आफ्नो व्यवसायमा व्यस्त हुनुहुन्छ । बाख्रा पालन, बंगुरपालन, भैँसीपालन, किरानापसल र सिलाईकटाईका लागि राजापुर नगरपालिकाले सहयोग गरेको छ । द्वन्द्वकालमा बेपत्ता पारिएका ३४ जना र सहिद भएका ७५ जना गरी एक सयनौ घरपरिवारलाई राजापुर नगरपालिकाले जिविकोपार्जनका लागि एक एक लाख सहयोग गरेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो । विगत तीन आर्थिक वर्षमा सबै परिवारलाई नगरपालिकाले सहयोग गरेको बताउँदै उहाँहरू सबैले व्यवसाय गरिरहेको बताउनुभयो ।
राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले जिविकोपार्जनका लागि बेपत्ता तथा शहीदका परिवारलाई सहयोग गरेपछि उनीहरू व्यवसायमा भुलेको र मानसिक तनाव कम भएको बताउनुभयो । ‘‘कतिपय परिवारको त बाख्राका पाठा किनेर पाल्नेसम्म आर्थिक स्रोत थिएन ।’’ उहाँले भन्नुभयो, ‘‘ति परिवारले बाख्रा पालन गरेर घरखर्च चलाएका छन् । सिलाइकटाइ व्यवसाय गरेकाले त अरुलाई रोजगारी समेत दिएका छन् ।’’
द्वन्द्वपीडित परिवारलाई सरकारले न्याय र परिपुरणको व्यवस्था नगर्दा झन् पीडित भएको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले बताउनुभयो । पीडितहरूको घाउमा थोरै भए पनि मल्हम लगाउनका लागि राजापुर नगरपालिकाले जिविकोपार्जनको कार्यक्रम ल्याएको बताउनुभयो । बेपत्ता र शहीदहरूको स्मृति कार्यक्रम, जिविकोपार्जन, स्वास्थ्य बिमा जस्ता कार्यक्रम गरेर उनीहरूको घाउमा मल्हम लगाउने काम गरेको बताउनुभयो ।