मकवानपुर समाचारदाता
मकवानपुर, साउन २५ गते । मकवानपुुरको मकवानपुरगढी गाउँपालिका–१ स्थित बुँदुनेखोलामा बेलिब्रिज निर्माणसँगै हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका बासिन्दालाई आवागमनमा सहज भएको छ । गाउँपालिकाको बजेटमा तीन वर्षअघिबाट बुँदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा यो वर्ष मात्रै बेलिब्रिज जडान कार्य सम्पन्न भएको हो ।
मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइतसिङ लोले तीन वर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायतका काम सम्पन्न भएकोमा अहिले बेलिब्रिज जडान कार्य सम्पन्न गरी सञ्चालन ल्याइएको जानकारी दिनुभयो । उहाँले ३५ लाख रुपियाँको लागतमा पुल निर्माण गर्न जग, पिल्लरलगायतका काम भएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा मकवानपुरगढी गाउँपालिकाबाट विनियोजित २० लाख रुपियाँको लागतमा बेलिब्रिज ल्याउने, जडान, रङरोगनलगायतका कार्य पूरा भएको बताउनुभयो ।
यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत बेलिब्रिज उपलब्ध भएकोमा बेलिब्रिजका लागि नपुग फलाम खरिदसँगै रङरोगन, जडान, पहुँचमार्ग निर्माणलगायतका कार्य गरी बेलिब्रिज सञ्चालनमा ल्याइएको उहाँले भन्नुभयो । बेलिब्रिज निर्माणपछि मकवानपुरगढी गाउँपालिका–१ का बासिन्दासँगै बकैया गाउँपालिका–४ र ११ का बासिन्दालाई आवतजावत तथा हेटौँडा उपमहानगरपालिका–१८ का बासिन्दालाई घाँसदाउरा गर्न सहज भएको छ । पुलको अभावमा विद्यार्थीलाई शैक्षिक संस्था पुग्न र स्थानीयलाई गाउँघरमा उत्पादित कृषिजन्य वस्तु बजार पु-याउन समस्या हुँदा बर्खाको समयमा ज्यान जोखिममा राखेर आवागमन गर्नुपर्ने बाध्यता रहेको थियो ।
जम्मा १४ मेट्रिक टन मात्र भारवहन क्षमता रहेको उक्त बेलिब्रिजबाट मकवानपुरगढीसँगै आसपासका पाँच हजारभन्दा बढी नागरिक लाभान्वित हुने भएका छन् । “बेलिब्रिज निर्माणपछि वर्षायाममा आवागमनका लागि सहज भएको छ,” वडाध्यक्ष लोले भन्नुभयो, “बेलिब्रिजको पहुँचमार्ग सुधार, बेलिब्रिज र सडकको सुरक्षाका लागि मेसिनरी वाल, तारजालीलगायतका कार्य गर्न गाउँपालिकाले चालु आव २०८२/८३ मा १५ लाख रुपियाँ विनियोजन गरेको छ ।”