हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन २५ गते । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बती भूमि लिजीमा भन्सारमा दुई देशका अधिकारीबिच सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान तथा सीमा सुरक्षाका बारेमा छलफल भएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा लिजीमा भन्सारमा आयोजित कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल र तिब्बती अधिकारी आङसहितका अधिकारीले सरकार र जनस्तरमा सम्बन्ध बलियो बनाउँदै सीमानाकामा व्यापार, अध्यागमन सेवासँगै अपराधजन्य गतिविधिको नियन्त्रण, प्राकृतिक विपत्ती तथा अन्य महामारीसम्बन्धी सूचना आदानप्रदानलाई झनै प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । नेपाल र चीनबिच १९५५ अगस्त १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
मुस्ताङका स्थानीय तहका प्रमुख तथा सुरक्षा समितिका सदस्यसहितको टोली लिएर पुग्नुभएका प्रजिअ भुसालले समन्वय र सहकार्यबाट नाकाबाट हुने अवैध कारोबार तथा आपराधिक गतिविधिलाई निस्तेज पार्न नियमित गस्ती तथा सुरक्षा बैठक बस्नेबारे छलफल भएको बताउनुभयो । प्रजिअ भुसालले भन्नुभयो, “नाकालाई सहज बनाउन चिनियाँ अधिकारीहरूसमेत प्रतिबद्ध हुनुहुन्छ, हामीले अहिलेसम्मका राम्रो अभ्यास, सुधार गर्नुपर्ने क्षेत्रबारे गम्भीर रूपमा छलफल गरेका छौँ ।” सोही अवसरमा नाका क्षेत्रबाट आउने बाढीले मुस्ताङलाई असर गरेको भन्दै बाढीको सूचनासँगै महामारी नियन्त्रणका लागि समेत नेपाली पक्षले गरेको प्रस्तावलाई चिनियाँ अधिकारीले चासो देखाएका थिए ।
सीमाक्षेत्रमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र चिनियाँ प्रहरीले नियमित सुरक्षा गस्तीलाई अझै बढाउने दुवै पक्षको एकमत रहेको प्रजिअ भुसालले बताउनुभयो । तिब्बती भूमि लिजीमा भन्सार, सुक्खा बन्दरगाह, अध्यागमन र सुरक्षा पोस्टलगायत चिनियाँ पक्षबाट आवश्यक संरचना बनाइसकेको अवस्थामा नेपालतर्फ संरचना बनाउन नेचुङ भन्सारको नाममा एक हजार रोपनी जग्गासहित अन्य संरचना बनाउने क्रममा रहेको जानकारी गराइएको थियो । चीनले तिब्बतको सिकात्सेदेखि ढुङ्बासेन बजार हुँदै कोरला नाकाको लिजीसम्म चार लेनको सडक सञ्जाललाई धार्मिक पर्यटनका लागि समेत प्रयोग गर्न नेपाली पक्षले गरेको प्रस्तावलाई चिनियाँले सकारात्मक प्रतिक्रिया दिएको उल्लेख छ ।
तिब्बतमा रहेको कैलाश मानसरोवरका लागि नेपाली भूमिबाट सबैभन्दा सहज कोरोला नाका र चिनियाँ बौद्ध धर्मावलम्बीले मुक्तिनाथ मन्दिर, दामोदर कुण्डको दर्शनका लागि समेत सहज हुने बताइएको थियो । मुस्ताङको चीनको स्वशासित तिब्बतसँग १८ देखि ३३ सम्म सीमास्तम्भले १३४ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ भने कोरला नाका रहेको २४ नम्बर सीमास्तम्भ समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित छ ।